चांगानले बेइजिंग हुन्डाईको चोंगकिंग प्लान्ट अधिग्रहण, दिपल इभी उत्पादन क्षमता झन् विस्तार

  • कालिका खवर
  • बिहिबार, मंसिर ११, २०८२
  • काठमाडौँ । चांगानले चीनस्थित हुन्डाईको चोंगकिंग प्लान्ट अधिग्रहण गरेको छ। यो प्लान्ट अब चांगानको दिपल ब्रान्डका सवारीसाधन उत्पादनका लागि प्रयोग गरिनेछ।

    चांगानको उत्पादन क्षमता सीमा नजिक पुगिसकेपछि कम्पनीले क्षमतावृद्धिका लागि नयाँ प्लान्ट आवश्यक परिरहेको थियो। केही दिनअघि द इकोनोमिक अब्जर्भरले प्लान्ट स्वामित्व परिवर्तनबारे सार्वजनिक गरेको जानकारीलाई दिपलले पुष्टि गरेको हो।

    पूर्व बेइजिंग हुन्डाईका पाँच प्रमुख उत्पादन केन्द्रमध्ये रहेको यो प्लान्ट १८.७ लाख वर्ग मिटर क्षेत्रमा फैलिएको छ। सन् २०१५ मा निर्माण सुरु भएको र २०१७ अगस्टबाट उत्पादन थालिएको यस प्लान्टमा १.१ बिलियन डलरको प्रारम्भिक लगानी थियो। वार्षिक ३ लाख युनिट उत्पादन क्षमता भएको कारखाना २०२१ डिसेम्बरदेखि बन्द अवस्थामा रहेको थियो।

    हाल दिपलका इभीहरू नानजिंग र बेइजिंगस्थित प्लान्टमा उत्पादन भइरहेका छन्। नयाँ प्लान्ट थपिएसँगै दिपलको उत्पादन क्षमता व्यापक रूपमा बढ्ने, बजार प्रभाव विस्तारित हुने र निर्यात लक्ष्यमा थप गतिशीलता आउने अपेक्षा गरिएको छ। यो वर्ष अक्टोबरमा दिपल इभीको बिक्री अघिल्लो वर्षको तुलनामा ५७.१ प्रतिशतले वृद्धि भएको रिपोर्ट छ।

    चांगानले दिपल ब्रान्डलाई विश्वस्तरमा विस्तार गर्ने लक्ष्यअनुरूप युरोप र दक्षिण अमेरिकामा मोडेल सार्वजनिक गर्दै आएको छ। दिपलका S05 र S07 मोडेल हालै जर्मनी, बेलायत, फ्रान्स लगायत युरोपेली बजारमा प्रवेश गरेका छन्। केही दिनअघि नै दिपल ब्रान्ड ब्राजिलमा पनि आधिकारिक रूपमा लन्च गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar