भोटेकोशी विपद्का पीडितलाई पर्वतारोहण व्यवसायीको ४० लाखभन्दा बढी सहयोग

  • कालिका खवर
  • बिहिबार, भदौ २५, २०८३
  • काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विपद्बाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि नेपालका पर्वतारोहण तथा हिमाल आरोहण व्यवसायीहरूले ४० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन्।

    एक्सपेडिसन अपरेटर्स एसोसिएसन नेपाल (ईओएएन) को पहलमा संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेललाई हस्तान्तरण गरिएको ईओएएनले जनाएको छ।

    ईओएएनको कार्यसमिति निर्णयअनुसार संघले मात्रै ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ। संघका सदस्य कम्पनीहरूले पनि स्वेच्छिक रूपमा सहयोग गरेका छन्।

    सहयोग गर्नेमा ट्याग नेपाल प्रालिले १० लाख, साटोरी एडभेन्चर्स प्रालि र सांग्रिला नेपाल ट्रेक्स प्रालिले ५/५ लाख, आइसल्यान्ड ट्रेक्स एन्ड एक्सपिडिसनले ४ लाख ४४ हजार ४४४ रुपैयाँ तथा एक्सपिडिसन हिमालय डटकमले ५५ हजार ५५५ रुपैयाँ दिएका छन्।

    त्यस्तै, हिमालयन गाइड्स नेपालले १ लाख १ हजार र स्नोवी होराइजन ट्रेक्सले १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन्। ईओएएनकै सदस्य संस्था ८के एक्सपिडिसन्सले यसअघि नै प्रधानमन्त्री राहत कोषमा २ लाख २२ हजार २२२ रुपैयाँ सहयोग गरिसकेको छ।

    सेभेन समिट एडभेन्चरका प्रबन्ध निर्देशक मिङ्मा गेलु शेर्पाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ५०० थान रेन ज्याकेट वितरण गर्नुका साथै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन्।

    ईओएएन अध्यक्ष डम्बर पराजुलीले विपद्बाट प्रभावित परिवारसँग उभिनु पर्वतीय पर्यटन समुदायको सामाजिक तथा मानवीय दायित्वसँगै राष्ट्रिय जिम्मेवारी भएको बताए। उनले आगामी दिनमा पनि राष्ट्रिय विपद् तथा मानवीय संकटका बेला सरकारसँग सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

    ईओएएनका महासचिव ऋषि भण्डारीले भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा भएको विपद्ले ठूलो जनधनको क्षति पुर्‍याएको भन्दै पीडित परिवारप्रति समवेदना र विस्थापित समुदायप्रति ऐक्यबद्धता व्यक्त गरे।

    संघले सरकारबाट जारी खोज, उद्धार, राहत तथा पुनःस्थापनाका प्रयासको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता विपद्का बेला निरन्तर सहयोग गर्ने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar