भोटेकोशी बाढीमा भएको क्षतिमा खुशी व्यक्त गर्दै भिडियो बनाउने युवक पक्राउ

  • कालिका खवर
  • सोमवार, भदौ २२, २०८३
  • काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिलाई लिएर विभिन्न जातजातिलाई लक्षित गर्दै होच्याउने, अपमानित गर्ने तथा विपत्तिमा खुशी व्यक्त गरेको भिडियो सामाजिक सञ्जालमा प्रसारण गर्ने एक युवक पक्राउ परेका छन्।

    नेपाल प्रहरीको साइबर ब्यूरोले प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा बैतडीको सुर्नया गाउँपालिका–७ स्थायी ठेगाना भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा बस्दै आएका २४ वर्षीय वीरेन्द्र मडैलाई पक्राउ गरेको हो। ब्यूरोबाट खटिएको टोलीले उनलाई २०८३ भदौ २० गते पक्राउ गरेको जनाएको छ।

    प्रहरीका अनुसार २०८३ भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिसम्बन्धी विषयलाई लिएर विभिन्न जातजातिलाई लक्षित गर्दै होच्याउने, अपमानित गर्ने तथा उक्त विपत्तिमा खुशी व्यक्त गर्ने प्रकृतिको भिडियो सामग्री तयार गरी सामाजिक सञ्जालमा प्रसारण गरिएको थियो।

    उक्त सामग्रीका सम्बन्धमा ब्यूरोले प्राविधिक विश्लेषणसहित अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा भिडियो सामग्री प्रसारणमा संलग्न रहेको खुलेपछि मडैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    पक्राउ परेका मडैविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।

    प्रहरीले विपद्का बेला सामाजिक सद्भाव, जातीय सहिष्णुता तथा पीडित समुदायको संवेदनशीलतालाई असर पुग्ने गरी सामाजिक सञ्जालमा सामग्री प्रसारण नगर्नसमेत आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar