भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी गम्भीर घाइते, चालक फरार

  • कालिका खवर
  • शुक्रबार, पुस १८, २०८२
  • हेटौंडा । मदिरा सेवन (मापसे) गरी गाडी चलाइरहेका एक भारतीय नागरिकले ट्राफिक चेकजाँचका क्रममा प्रहरीलाई ठक्कर दिएर फरार भएका छन् । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा पर्ने राप्ती पुल नजिकै ट्राफिक प्रहरी कार्यालय अगाडि नियमित मापसे चेकजाँचका क्रममा घटना भएको हो । ट्राफिक प्रहरीले शंकास्पद भारतीय नम्बर प्लेटको कारलाई रोक्न संकेत गर्दा चालकले लेन मिच्दै तीव्र गतिमा गाडी चलाएर प्रहरीमाथि ठक्कर दिएका थिए ।

    ठक्करबाट चेकजाँचमा खटिएका एक ट्राफिक प्रहरी गाडीको अगाडिको भागमा अड्किएर करिब १० मिटर जति घिसारिएका थिए । घटनामा गम्भीर घाइते भएका प्रहरीलाई तत्काल उपचारका लागि हेटौंडास्थित अस्पतालमा भर्ना गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार चालकले मदिरा सेवन गरेको अवस्थामा गाडी चलाइरहेको देखिएको थियो । घटना लगत्तै कार चालक गाडीसहित फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार फरार चालकको खोजी तीव्र पारिएको छ । भारतीय नम्बर प्लेटको कारको विवरणका आधारमा सीमावर्ती क्षेत्र तथा नाकाहरूमा समेत निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

    प्रहरीले घटनालाई गम्भीर आपराधिक गतिविधिका रूपमा लिँदै चालकलाई नियन्त्रणमा लिएर कानुनी कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ । साथै, मापसे चेकजाँचमा खटिएका प्रहरीमाथि आक्रमण हुनु अत्यन्तै निन्दनीय र गम्भीर विषय भएको बताउँदै दोषीलाई कडा कारबाही गरिने चेतावनी दिएको छ । घटनापछि यस क्षेत्रमा केही समय यातायात अवरुद्ध भएको थियो भने थप सुरक्षाका लागि प्रहरी परिचालन गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar