बचत तथा ऋण सहकारीलाई ६० दिनभित्र दर्ता हुन राष्ट्रिय सहकारी नियमन प्राधिकरणको आह्वान

  • कालिका खवर
  • बुधबार, मंसिर १०, २०८२
  • काठमाडौँ । बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाको नियमन र व्यवस्थापन सुदृढ बनाउने उद्देश्यले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले देशभरका सहकारी संस्थालाई प्राधिकरणमा दर्ता हुन आह्वान गरेको छ। सहकारी संस्थाले अब अनलाइनमार्फत दर्ता प्रक्रिया पूरा गर्नुपर्ने प्राधिकरणले जनाएको छ।

    यसका लागि आजदेखि ६० दिनको समय प्रदान गरिएको छ। प्राधिकरणले ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड–०८२ (पहिलो संशोधन)’ जारी गर्दै दर्ता प्रक्रिया सहज र पारदर्शी बनाउन बुधबार अनलाइन पोर्टल (विद्युतीय प्रणाली) सार्वजनिक गर्दैछ।

    प्राधिकरणका अनुसार उक्त प्रणाली सार्वजनिक भएपछि मात्र सहकारी दर्ताका लागि दिइएको म्याद गणना सुरु हुनेछ। हालै संशोधन गरिएको मापदण्डअनुसार विद्युतीय प्रणाली लागू भएको दिनदेखि ६० दिनभित्र दर्ता अनिवार्य हुनेछ।

    दर्ता प्रक्रियामा सहकारी संस्थाले सञ्चालन इजाजतपत्र दस्तुर तिर्नुपर्नेछ। शुल्क संस्थाको कुल सम्पत्ति वा कुल पुँजी तथा दायित्वका आधारमा तोकिएको छ।

    शुल्क दर यस प्रकार छन्

    • २ करोडसम्म कुल सम्पत्तिः १ हजार रुपैयाँ

    • २ करोडदेखि १० करोडसम्मः ३ हजार रुपैयाँ

    • १० करोडदेखि २५ करोडसम्मः ५ हजार रुपैयाँ

    • २५ करोडदेखि ५० करोडसम्मः ७ हजार रुपैयाँ

    • ५० करोडदेखि १ अर्बसम्मः १० हजार रुपैयाँ

    • १ अर्बभन्दा बढी कुल सम्पत्तिः १५ हजार रुपैयाँ

    प्राधिकरणले सहकारी क्षेत्रलाई पारदर्शी, उत्तरदायी र सुरक्षित बनाउन यो प्रक्रिया अनिवार्य गरिएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar