अमेरिकी मध्यावधि निर्वाचनअघि आयोगको प्रणालीमा साइबर आक्रमणको प्रयास

  • कालिका खवर
  • बुधबार, कार्तिक ११, २०८३
  • काठमाडौं । अमेरिकाको संघीय निर्वाचन आयोग (एफईसी)को प्रणालीमा अनधिकृत पहुँचको प्रयास भएको छ । अनधिकृत पहुँचको प्रयासपछि चुनावी चन्दा र खर्चको विवरण बुझाउने अनलाइन सेवा अस्थायी रूपमा बन्द गरिएको छ । प्रणालीमा घुसपैठको प्रयास भएपछि आयोगले सेवा बन्द गरेको रोयटर्सले जनाएको छ ।

    नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनको एक साताअघि भएको घटनाले राजनीतिक दलहरूको खर्च निगरानीमा चुनौती थपेको बताइएको छ । यस निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले सदनमा बहुमत कायम राख्ने वा नराख्ने निर्धारण गर्नेछ ।

    एफईसीले आफ्नो इलेक्ट्रोनिक फाइलिङ प्रणाली बन्द रहेको र प्राविधिक टोलीले सेवा पुनः सञ्चालन गर्न काम गरिरहेको जनाएको छ ।

    प्रणाली बन्द हुँदा राजनीतिक संगठनहरूलाई २४ र ४८ घण्टाभित्र बुझाउनुपर्ने खर्च विवरण पेस गर्न कठिन भएको छ । यसले चुनावी चन्दाको स्रोत र राजनीतिक खर्चको पारदर्शितामा असर पार्न सक्ने निगरानीकर्ताहरूले बताएका छन् ।

    एफईसीले मतदान सञ्चालन नगर्ने भएकाले प्रणाली अवरुद्ध हुँदा मतदाताको मतदान गर्ने क्षमतामा प्रत्यक्ष असर पर्ने देखिँदैन । पुराना खर्च विवरण भने वेबसाइटमा उपलब्ध छन् ।

    घटनाबारे प्रतिक्रिया माग्दा अमेरिकी साइबर सुरक्षा तथा पूर्वाधार सुरक्षा एजेन्सी र संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले एफईसीलाई सम्पर्क गर्न भनेका थिए । प्रणालीमा अनधिकृत पहुँचको प्रयास कसले गरेको हो भन्ने खुलिसकेको छैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar