बेलायतमा स्तन क्यान्सर छिटो पत्ता लगाउने एआईको प्रभावकारिता परीक्षण हुँदै

  • कालिका खवर
  • बिहिबार, मंसिर १०, २०८३
  • काठमाडौ । बेलायतमा करिब सात लाख महिलालाई सहभागी गराएर स्तन क्यान्सरको पहिचानमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारिता जाँच्ने विश्वकै सबैभन्दा ठूलो क्लिनिकल परीक्षण सुरु हुँदै छ ।

    परीक्षणको मुख्य उद्देश्य एआईले स्तन क्यान्सर प्रारम्भिक चरणमै पहिचान गर्न सक्छ कि सक्दैन भन्ने पत्ता लगाउनु रहेको बताइएको छ ।

    यसका साथै रोग पहिचानको क्षमता बढाउने, स्वास्थ्यकर्मीमाथिको कार्यभार घटाउने र अनावश्यक रूपमा क्यान्सर पहिचान हुने (ओभरडाइग्नोसिस) जोखिम कम गर्ने विषय पनि अध्ययन गरिनेछ ।

    ‘इदिथ’ नाम दिइएको यस परीक्षणमा महिलाहरूलाई सहभागी गराउने प्रक्रिया सुरु भइसकेको छ । क्याम्ब्रिज युनिभर्सिटी हस्पिटल पहिलो परीक्षण केन्द्र बनेको छ भने बेलायतभरका ३० केन्द्रमा यो परीक्षण सञ्चालन हुनेछ ।

    बेलायतमा ५० देखि ७१ वर्ष उमेर समूहका महिलालाई प्रत्येक तीन वर्षमा स्तन क्यान्सरको नियमित परीक्षण (स्क्रिनिङ) का लागि बोलाइन्छ । हरेक वर्ष २० लाखभन्दा बढी महिला यसमा सहभागी हुन्छन् । हाल नेसनल हेल्थ सर्भिस (एनएचएस) का दुईजना विशेषज्ञले म्यामोग्राम (स्तनको एक्स–रे) परीक्षण गर्छन् । तर, यस परीक्षणमा तीमध्ये एक विशेषज्ञको स्थान एआईले लिनेछ ।

    यसअघि गरिएका साना अध्ययनले एआईको प्रयोगबाट स्तन क्यान्सर पहिचानको दर बढाउन सकिने देखाएका छन् । यद्यपि, एआईका कारण अनावश्यक थप परीक्षणका लागि महिलालाई बोलाउनुपर्ने अवस्था सिर्जना नहोस् र उनीहरूलाई हानि नपुगोस् भन्ने सुनिश्चित गर्नु पनि अनुसन्धानकर्ताहरूका लागि चुनौती बनेको बताइएको छ ।

    वारविक विश्वविद्यालयका जनस्वास्थ्य प्राध्यापक तथा परीक्षणका सहप्रमुख अनुसन्धानकर्ता सियान टेलर–फिलिप्सले एआईले प्रारम्भिक चरणमै क्यान्सर पहिचान गर्न सघाउन सक्ने बताउँदै अनावश्यक पहिचानको जोखिमप्रति सचेत रहनुपर्ने बताए ।

    उनले भने, “एआईको सहयोगले सुरुआती चरणमै क्यान्सर पत्ता लगाउने क्षमता राम्रो हुन सक्छ, तर हामी यस्तो रोगको आवश्यकताभन्दा बढी पहिचान गर्न चाहँदैनौँ, जसले कहिल्यै कुनै लक्षण नै पैदा गर्दैन ।”

    बेलायतमा महिलामा देखिने क्यान्सरमध्ये हरेक वर्ष स्तन क्यान्सरका करिब ५९ हजार नयाँ बिरामी थपिन्छन् । तीमध्ये झन्डै एकतिहाइमा नियमित म्यामोग्राम परीक्षणबाटै क्यान्सर पत्ता लाग्ने गर्छ । प्रायः प्रारम्भिक चरणमै रोग पहिचान हुने भएकाले उपचार सहज हुन्छ । यस स्क्रिनिङ कार्यक्रमले हरेक वर्ष करिब एक हजार तीन सय जनाको ज्यान बचाउने अनुमान छ ।

    क्याम्ब्रिज विश्वविद्यालयको रेडियोलोजी विभागकी प्राध्यापक, एडेनब्रुक अस्पतालकी सल्लाहकार तथा परीक्षणकी सहप्रमुख अनुसन्धानकर्ता फियोना गिल्बर्टका अनुसार हरेक वर्ष लाखौँ महिलाले म्यामोग्राम गराउँछन्, तर तीमध्ये एक प्रतिशतभन्दा कममा मात्र क्यान्सर पुष्टि हुन्छ ।

    उनले भनिन्, “प्रविधिको सहयोगले यी तस्बिरहरूको परीक्षण प्रक्रियालाई अझ प्रभावकारी बनाउन सकिन्छ । यसले स्तन क्यान्सर विशेषज्ञ रेडियोलोजिस्टहरूलाई बिरामीको हेरचाहमा बढी समय दिन मद्दत गर्नेछ । साथै, रोग छिटो पहिचान गरी उपचार सुरु गर्न पनि सहयोग पुग्नेछ ।”

    गिल्बर्टले बीबीसीसँग कुरा गर्दै रेडियोलोजिस्टहरूको ठूलो अभाव रहेको र इमेजिङ परीक्षणको संख्या हरेक वर्ष आठ प्रतिशतले बढिरहेको बताइन् ।

    ट्रायल कसरी सञ्चालन हुनेछ ?

    नियमित स्तन क्यान्सर परीक्षणका लागि निम्तो पाउने महिलालाई यस अध्ययनबारे जानकारी दिइनेछ । तर, सहभागी हुनु अनिवार्य हुनेछैन । यस परीक्षणले हालको नियमित स्क्रिनिङ प्रक्रियामा कुनै परिवर्तन गर्नेछैन ।

    म्यामोग्रामका तस्बिर परीक्षण गर्ने दुई मानव विशेषज्ञमध्ये एकको स्थानमा एआई प्रविधि प्रयोग गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा अध्ययन केन्द्रित हुने बताइएको छ ।

    अनुसन्धानकर्ताहरूका अनुसार मेसिन लर्निङ सफ्टवेयरलाई लाखौँ पुराना तस्बिरबाट तालिम दिएर रोगसँग सम्बन्धित ढाँचा पहिचान गर्न सक्षम बनाउन सकिन्छ । यसबाट स्तनको तन्तुमा हुने त्यस्ता सूक्ष्म परिवर्तनसमेत पत्ता लगाउन सकिन्छ, जुन मानव आँखाबाट छुट्न सक्छन् । परीक्षणको एउटा चरणमा एनएचएसका विशेषज्ञसमक्ष पठाउनुअघि एआईले म्यामोग्रामका तस्बिरको मूल्यांकन गर्नेछ । अर्को चरणमा भने विशेषज्ञले परीक्षण गरिसकेपछि एआईले तस्बिरको समीक्षा गर्नेछ ।

    एक करोड पाउन्ड लागतको यस परीक्षणलाई नेसनल इन्स्टिच्युट फर हेल्थ एन्ड केयर रिसर्चले आर्थिक सहयोग गरेको छ । वारविक विश्वविद्यालय, क्याम्ब्रिज विश्वविद्यालय, क्याम्ब्रिज युनिभर्सिटी हस्पिटल र एनएचएस फाउन्डेसन ट्रस्टले एनएचएस इग्ल्यान्डसँग मिलेर परीक्षण सञ्चालन गरिरहेका छन् ।

    एडेनब्रुक अस्पतालको स्तन क्यान्सर स्क्रिनिङ एकाइको भ्रमणका क्रममा स्वास्थ्य मन्त्री इभेट कुपरले बीबीसीसँग कुरा गर्दै एआईमा उपचार प्रणालीलाई प्रभावकारी बनाउने ठूलो सम्भावना रहेको बताइन् ।

    उनले भनिन्, “एआईमा उपचारलाई अझ राम्रो बनाउने ठूलो क्षमता छ । त्यसैले

    उचित सुरक्षा उपाय अपनाउँदै यसको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने बुझ्न यस्ता परीक्षण आवश्यक छन् ।”

    एनएचएस इग्ल्यान्डका क्यान्सरसम्बन्धी राष्ट्रिय क्लिनिकल निर्देशक प्राध्यापक पिटर जोन्सनले स्तन क्यान्सर स्क्रिनिङले ज्यान बचाउने बताउँदै परीक्षणका लागि आमन्त्रित महिलालाई सहभागी हुन आग्रह गरे ।

    उनले भने, “प्रत्येक स्क्यानलाई अझै पनि एक विशेषज्ञले नै परीक्षण गर्नेछन् । यो विधि प्रभावकारी प्रमाणित भएमा महिलाहरूले आवश्यक परीक्षण र उपचार छिटो पाउने सुनिश्चित गर्न सकिन्छ ।”

    यस परीक्षणमा चारवटा एआई कम्पनी सहभागी छन् । परीक्षण करिब तीन वर्षसम्म सञ्चालन हुने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar