भारतको मध्यप्रदेशमा दीपावलीको रात दुई घरमा भीषण आगलागी, १२ जनाको मृत्यु

  • कालिका खवर
  • सोमवार, कार्तिक २३, २०८३
  • नयाँदिल्ली । दीपावलीको रात भारतको मध्यप्रदेश राज्यमा छुट्टाछुट्टै घरमा भीषण आगलागी हुँदा १२ जनाको ज्यान गएको छ ।  कटनी र सिवनी जिल्लामा भएका दुई फरक घटनामा केही अन्य व्यक्ति घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

    मध्यप्रदेशको कटनी जिल्ला सदरमुकामबाट करिब ५५ किलोमिटर टाढा रहेको बरही कस्बामा आइतबार राति करिब ११ः३० बजे भीषण आगलागी भएको थियो । पूरन अग्रवाल र रितेश अग्रवालको भाँडाकुँडा पसलमा अचानक आगो लागेको थियो । पसलमाथि नै उनीहरूको परिवार बस्दै आएको तीनतले घर थियो । पसलबाट सुरु भएको आगो केही समयमै पूरै भवनमा फैलियो ।

    आगलागी हुँदा परिवारका सदस्यहरू घरभित्र सुतिरहेका थिए । आगो र धुवाँ तीव्र रूपमा फैलिएकाले उनीहरूले बाहिर निस्कने अवसरसमेत पाएनन् । घटनामा परिवारका ६ सदस्यको जलेर मृत्यु भयो ।

    मृतकमा दुई वृद्धवृद्धा, एक महिला र तीन बालबालिका रहेका छन् । आगलागीबाट एक पुरुष र एक महिला भने जसोतसो बाहिर निस्केर ज्यान जोगाउन सफल भएका थिए ।

    आगलागीको खबर पाएलगत्तै स्थानीय बासिन्दाले उद्धार प्रयास सुरु गरेका थिए । त्यसपछि बरही, विजयराघवगढ, कैमोर र कटनी नगर निगमका दमकल टोली घटनास्थल पुगेका थिए ।

    त्यसैगरि, सिवनी जिल्लाको छपारा नगरमा पनि अर्को हृदयविदारक आगलागी भएको थियो । छपारा नगरको महावीर वार्डस्थित जैन मोहल्लामा सोमबार बिहान करिब ३ बजे सुनचाँदी व्यवसायी कुन्दन सोनीको घरमा अचानक आगो लागेको थियो । राति सबैजना सुतिरहेका बेला लागेको आगो तीव्र गतिमा फैलियो । घरभित्र रहेका मानिसहरूले बाहिर निस्कने अवसर पाएनन् ।

    घटनामा एउटै परिवारका ६ जनाको मृत्यु भएको छ । लखनादौनका एसडीओपी अपूर्व भलावीका अनुसार आगलागी हुँदा घरमा कुल १० जना उपस्थित थिए । तीमध्ये ६ जनाको मृत्यु भएको छ भने चार जनालाई सुरक्षित उद्धार गरिएको र उपचारका लागि अस्पताल भर्ना गरिएको जनाइएको छ ।

    आगलागीको सूचना पाएपछि प्रहरी, दमकल र एम्बुलेन्स टोली घटनास्थल पुगेका थिए । स्थानीय बासिन्दाको सहयोगमा उद्धार अभियान सञ्चालन गरी घरभित्र फसेका मानिसहरूलाई बाहिर निकालिएको थियो । दुवै घटनामा आगलागीको वास्तविक कारण भने खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar