मंसिर १० गतेभित्र राप्रपाले महाधिवेशन प्रतिनिधि छनोट गर्ने

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २०, २०८३
  • काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले प्रदेश सभा निर्वाचन क्षेत्रमा रहेका योग्य सक्रिय सदस्यहरू मध्येबाट मंसिर ४ देखि १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको हो।

    बैठकले यसअघिको निर्वाचन कार्यतालिकामा सामान्य संशोधन गर्दै स्वीकृत सक्रिय सदस्यहरूको नामावली कात्तिक ३० गते प्रकाशन गर्ने निर्णय गरेको छ। प्रकाशित नामावलीउपर मंसिर १ गतेभित्र दाबी–विरोध तथा नाम सच्याउन सकिनेछ।

    त्यस्तै, छनोट भएका महाधिवेशन प्रतिनिधिहरूको फोटोसहितको नामावली मंसिर १२ गतेभित्र केन्द्रीय सचिवालय र केन्द्रीय निर्वाचन समितिमा पठाउनुपर्ने निर्णय गरिएको राप्रपाले जनाएको छ।

    यसैगरी, सक्रिय सदस्यताको नयाँ इन्ट्री बुधबार रातिदेखि बन्द भइसकेको सन्दर्भमा इन्ट्री भएका सदस्यहरूले तोकिएको रकम कात्तिक २१ गतेभित्र बुझाउनुपर्नेछ।

    सदस्यताको आवेदनमा फोटो छुटेको भए सोही मितिभित्र फोटो उपलब्ध गराउन पनि समितिले आग्रह गरेको छ। तोकिएको समयभित्र रकम नबुझाउने वा फोटो उपलब्ध नगराउने सदस्यको सक्रिय सदस्यता आवेदन अस्वीकृत हुने समितिले जनाएको छ।

    बैठकका निर्णय सार्वजनिक गर्दै राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले महाधिवेशन प्रतिनिधि छनोटलगायतका प्रक्रिया निर्धारित कार्यतालिकाअनुसार अघि बढाइने जानकारी दिए। राप्रपाले मंसिरमा केन्द्रीय महाधिवेशन गर्दैछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar