विद्युतीय सवारी र ऊर्जाको प्रयोगबाट आत्मनिर्भर अर्थतन्त्र बनाउन सकिन्छ : कुलमान घिसिङ

  • कालिका खवर
  • सोमवार, अशोज २६, २०८३
  • काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपाललाई आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढाउन विद्युतीय सवारीसाधन र विद्युत्को प्रयोग विस्तार गर्नुपर्ने बताएका छन्। उनले यातायातदेखि भान्सासम्म विद्युतीकरण गर्दै पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमाथिको परनिर्भरता घटाउनुपर्नेमा जोड दिएका हुन्।

    काठमाडौंमा आज जेलियो ईभी स्कुटरको नयाँ मोडल सार्वजनिक तथा आधिकारिक शोरुमको उद्घाटन कार्यक्रममा बोल्दै घिसिङले नेपालमा विद्युतीय गाडीको बिक्री बढ्दै गएकोप्रति खुसी व्यक्त गरे। उनले विद्युतीय कारसँगै स्कुटर र मोटरसाइकलको क्षेत्रमा पनि विद्युतीय विकल्पको प्रयोग विस्तार गर्नुपर्ने बताए।

    विद्युतीय सवारीसाधनको सञ्चालन खर्च पेट्रोलबाट चल्ने सवारीको तुलनामा निकै कम हुने उल्लेख गर्दै घिसिङले यसले सर्वसाधारणको दैनिक खर्च घटाउन सहयोग गर्ने बताए।

    “पेट्रोलको तुलनामा विद्युतीय सवारीसाधन धेरै गुणासम्म सस्तो पर्छ। पेट्रोलबाट चलाउँदा प्रतिकिलोमिटर २० रुपैयाँभन्दा बढी खर्च लाग्छ भने विद्युतीय स्कूटरमा प्रतिकिलोमिटर जम्मा २० देखि ३० पैसा मात्र खर्च हुन्छ,” उनले भने।

    आफ्नो अनुभव सुनाउँदै घिसिङले महिनामा करिब २ हजार ५०० रुपैयाँको विद्युत् खपतबाटै विद्युतीय गाडीको दैनिक आवश्यकता पूरा गरिरहेको बताए।

    सरकारको कर नीतिप्रति घिसिङको असन्तुष्टि

    घिसिङले विद्युतीय सवारीसाधन तथा चार्जिङ स्टेसनमा लगाइएको कर र भन्सार शुल्कप्रति असन्तुष्टि व्यक्त गरेका छन्। चार्जिङ स्टेसनमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र ८० प्रतिशतसम्म भन्सार शुल्क लगाउने नीतिले विद्युतीय सवारीसाधनको प्रयोग विस्तारमा बाधा पुग्न सक्ने उनको भनाइ छ।

    “हामी आत्मनिर्भर अर्थतन्त्रतर्फ जानुपर्छ भनिरहेका छौँ, तर सरकारले बिजुलीमा भ्याट र ८० प्रतिशतसम्म भन्सार शुल्क लगाएर गलत नीति अँगालेको छ। यसले पेट्रोल, डिजेल र ग्यासको परनिर्भरता घटाउने अभियानलाई कमजोर बनाउँछ,” उनले भने।

    नेपालले वार्षिक चारदेखि पाँच खर्ब रुपैयाँ पेट्रोलियम पदार्थ आयातमा खर्च गरिरहेको उल्लेख गर्दै घिसिङले आयात घटाउन विद्युतीय सवारीसाधन र विद्युत्को प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताए। उनका अनुसार विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्न कर तथा भन्सार नीतिमा आवश्यक सहुलियत दिनुका साथै चार्जिङ पूर्वाधारको विकासमा समेत जोड दिनुपर्छ।

    उनले भान्सामा खाना पकाउन इन्डक्सन चुलोको प्रयोग बढाउनुपर्ने र यातायात क्षेत्रमा विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिनुपर्ने बताए। पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमाथिको निर्भरता घटाउन विद्युत्को उत्पादन, उपयोग र पूर्वाधार विकासलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने उनको धारणा थियो।

    घिसिङले विद्युतीय सवारीसाधन, इन्डक्सन चुलो र चार्जिङ पूर्वाधारको विस्तारले स्वदेशमा उत्पादित विद्युत्को खपत बढाउनुका साथै पेट्रोलियम पदार्थको आयात घटाउन सहयोग पुग्ने बताए। नेपाललाई आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढाउन ऊर्जा क्षेत्रको सम्भावनालाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्नेमा उनले जोड दिए।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar