नेपाली मौलिक स्वाद र आतिथ्य संस्कृतिको प्रवर्द्धनमा ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ सुरु

  • कालिका खवर
  • शनिबार, अशोज २४, २०८३
  • काठमाडौं। नेपाली मौलिक परिकार, रैथाने स्वाद र समृद्ध आतिथ्य संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले प्रेसिडेन्ट बिजनेस ग्रुपले ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आयोजना गर्ने भएको छ। फेस्टिभल असोज २५ देखि २९ गतेसम्म पाँच दिन सञ्चालन हुनेछ।

    प्रेसिडेन्ट बिजनेस ग्रुपका अनुसार फेस्टिभलका अवसरमा काठमाडौंको सुन्धारा, महाराजगञ्ज, बत्तीसपुतली र कलंकीस्थित आउटलेटहरूमा पक्कुसहित विभिन्न नेपाली परिकार उपलब्ध गराइनेछ। यसका साथै नेपाली मौलिक खानाको प्रवर्द्धन गर्ने उद्देश्यले लुम्बिनी प्रदेशको भैरहवामा आयोजना हुने फुड फेस्टिभलमा समेत प्रेसिडेन्टको पक्कु प्रस्तुत गरिनेछ।

    पक्कु नेपाली समाजको सांस्कृतिक तथा सामाजिक जीवनसँग पुस्तौँदेखि जोडिएको परम्परागत परिकार हो। यस परिकारलाई नयाँ पुस्ता, स्वदेशी तथा विदेशी पाहुना र अन्तर्राष्ट्रिय बजारसम्म परिचित गराउने उद्देश्यले समूहले विगत तीन वर्षदेखि पक्कु फेस्टिभल आयोजना गर्दै आएको जनाएको छ।

    यसअघिका संस्करणबाट प्राप्त अनुभव, ग्राहकका सुझाव तथा नेपाली मौलिक खानाप्रति बढ्दो आकर्षणले यस वर्षको फेस्टिभललाई थप व्यवस्थित र प्रभावकारी बनाउन प्रेरित गरेको समूहको भनाइ छ।

    नेपाली खानालाई पर्यटनसँग जोड्ने लक्ष्य

    प्रेसिडेन्ट बिजनेस ग्रुपले पक्कु फेस्टिभललाई सीमित अवधिको खानाको उत्सवमा मात्र सीमित नराखी नेपाली रैथाने परिकारको पहिचान स्थापित गर्ने, मौलिकताको संरक्षण गर्ने र नेपाली खानालाई पर्यटनसँग जोड्ने दीर्घकालीन अभियानका रूपमा अघि बढाएको जनाएको छ।

    समूहका अनुसार नेपालको पर्यटनको आकर्षण प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदामा मात्र सीमित छैन। यहाँको मौलिक खाना, पाककला, जीवनशैली र आतिथ्य परम्परा पनि पर्यटनका महत्त्वपूर्ण आधार हुन्। नेपाली खानाको पहिचान, प्रस्तुति र ब्रान्डिङलाई व्यवस्थित बनाउन सके पर्यटन प्रवर्द्धनका साथै स्थानीय कृषि उत्पादन, पशुपालन, आपूर्ति शृङ्खला, उद्यमशीलता र रोजगारी सिर्जनामा समेत योगदान पुग्न सक्ने समूहको विश्वास छ।

    “हामी पक्कुलाई एउटा परिकारका रूपमा मात्र होइन, नेपाली स्वाद, संस्कृति र आतिथ्यताको विशिष्ट पहिचानका रूपमा स्थापित गर्न चाहन्छौँ,” समूहले जनाएको छ।

    समूहले पक्कुलाई निश्चित अवधिको फेस्टिभलमा मात्र सीमित नराखी दीर्घकालीन ब्रान्डिङ, बजार विस्तार र प्रवर्द्धन अभियानका रूपमा विकास गर्ने लक्ष्यसमेत राखेको छ।

    ३५० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी

    होटल तथा रेस्टुरेन्ट व्यवसायमा दुई दशकदेखि सक्रिय प्रेसिडेन्ट बिजनेस ग्रुपले खाना, सेवा, गुणस्तर, स्वच्छता र आतिथ्यतालाई आफ्नो व्यावसायिक यात्राको मूल आधार बनाउँदै आएको जनाएको छ। ‘स्वाद, स्वास्थ्य र आतिथ्यता सँगसँगै’ भन्ने मूल मान्यताका साथ व्यवसाय सञ्चालन गर्दै आएको समूहले नेपाली मौलिक खानाको संरक्षण तथा प्रवर्द्धनलाई आफ्नो व्यावसायिक प्रतिबद्धतासँगै सामाजिक दायित्वका रूपमा समेत लिएको उल्लेख गरेको छ।

    समूहका अनुसार हाल यसअन्तर्गतका विभिन्न व्यवसाय तथा आउटलेटमा ३५० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। आगामी दिनमा रुपन्देहीको बुटवल र काठमाडौंको बुढानीलकण्ठमा नयाँ आउटलेट सञ्चालन गर्ने तयारीसमेत भइरहेको समूहले जनाएको छ।

    नयाँ आउटलेट सञ्चालनमा आएपछि गुणस्तरीय सेवा तथा आतिथ्यताको पहुँच विस्तार हुनुका साथै थप रोजगारीका अवसर सिर्जना हुने अपेक्षा समूहले गरेको छ।

    स्थानीय स्वादलाई विश्व बजारसम्म पुर्‍याउने लक्ष्य

    पक्कुजस्ता मौलिक परिकारको व्यावसायिक प्रवर्द्धनले स्थानीय उत्पादनको माग बढाउन, परम्परागत पाककलालाई आधुनिक बजारसँग जोड्न र नेपाली खानाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न सहयोग पुग्ने समूहको विश्वास छ।

    नेपाली खानाको मौलिकता कायम राख्दै त्यसलाई आधुनिक प्रस्तुति, गुणस्तरीय सेवा, स्वच्छता र व्यावसायिक मापदण्डसँग जोड्न सके राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विशिष्ट पहिचान बनाउन सकिने समूहले जनाएको छ।

    ‘स्थानीय स्वादलाई राष्ट्रिय पहिचान र राष्ट्रिय स्वादलाई विश्व बजारसम्म’ पुर्‍याउने लक्ष्यसहित आयोजना गर्न लागिएको फेस्टिभललाई सफल बनाउन समूहले ग्राहक, सञ्चारकर्मी, साझेदार, शुभेच्छुक तथा नेपाली मौलिक खानाका पारखीहरूसँग सहकार्यको अपेक्षा गरेको छ।

    नेपाली खानाको प्रवर्द्धन कुनै एक व्यवसाय वा संस्थाको मात्र दायित्व नभई साझा सांस्कृतिक सम्पदा, राष्ट्रिय पहिचान र पर्यटनको सम्भावनासँग जोडिएको सामूहिक जिम्मेवारी भएको समूहले उल्लेख गरेको छ।

    प्रेसिडेन्ट बिजनेस ग्रुपले पक्कुको मौलिक स्वादमार्फत नेपाली संस्कृति, आतिथ्य परम्परा र राष्ट्रिय पहिचानलाई व्यापक रूपमा चिनाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar