‘कार्की साइँला’ असोज २ गतेदेखि प्रदर्शनमा आउने

  • कालिका खवर
  • बिहिबार, अशोज १, २०८३
  • काठमाडौं । अभिनेता जितु नेपाल मुख्य भूमिकामा रहेको चलचित्र ‘कार्की साइँला’ आगामी असोज २ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। चलचित्र निर्माण पक्षले बिहीबार काठमाडौंको अनामनगरस्थित सिलौटो रेस्टुरेन्टमा पत्रकार भेटघाट आयोजना गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो।

    चलचित्रमा जितु नेपालले ‘कार्की साइँला’ नाम गरेका भरियाको भूमिका निर्वाह गरेका छन्। भरियाको काम गरेर जीवन गुजारा गरिरहेका कार्की साइँलाको विवाह, सन्तान प्राप्तिपछिको खुसी तथा गाउँले समाजमा देखिने हेपाहा प्रवृत्तिलाई चलचित्रको कथावस्तुमा समेटिएको निर्माण पक्षले जनाएको छ।

    चलचित्रले सामान्य जीवन बिताइरहेका एक भरियाको संघर्ष, पारिवारिक सम्बन्ध र सामाजिक व्यवहारलाई केन्द्रमा राखेको छ। मनोरञ्जनसँगै सामाजिक विषयवस्तुलाई दर्शकमाझ प्रस्तुत गर्ने उद्देश्यले चलचित्र निर्माण गरिएको निर्माण पक्षको भनाइ छ।

    चलचित्रमा जितु नेपालसँगै प्रियाना आचार्य, सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा लगायतका कलाकारको अभिनय रहेको छ।

    डम्बर राईको कथामा निर्माण भएको चलचित्रको पटकथा तथा संवाद शंकर धिताल र सविन अधिकारीले तयार पारेका हुन्। चलचित्रको निर्देशन राजेन्द्र बस्नेतले गरेका छन्।

    बालकुमार राई र निर्भिक बञ्जारा निर्माता रहेको चलचित्रमा अनन्त राई कार्यकारी निर्माता छन्। चलचित्रमा दिप्सन लिम्बु र संकेत अगस्थीको संगीत रहेको छ भने वितरणको जिम्मेवारी कुबेर फिल्मस्ले लिएको छ।

    निर्माण पक्षले ‘कार्की साइँला’ ले दर्शकलाई मनोरञ्जनसँगै सामाजिक विषयवस्तुसँग जोड्ने विश्वास व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar