स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

  • कालिका खवर
  • बुधबार, भदौ ३१, २०८३
  • काठमाडौं। स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि, प्रारम्भिक पहिचानको महत्वबारे जानकारी फैलाउने तथा क्यान्सर प्रभावित व्यक्ति र परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको छ। इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालसँगको सहकार्यमा आयोजना गर्न लागेको पिंकवाक आगामी असोज १७ गते शनिबार (अक्टोबर ३, २०२६) बिहान ६ बजे सुरु हुनेछ। पदयात्रा बसन्तपुरस्थित काठमाडौं दरबार स्क्वायरबाट सुरु भई ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरमा पुगेर सम्पन्न हुनेछ। कार्यक्रममा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति तथा प्रभावित परिवार, विभिन्न संघसंस्था तथा साझेदार संस्थाका प्रतिनिधि, सञ्चारकर्मी र सर्वसाधारणको सहभागिता रहने आयोजकले जनाएको छ। स्तन क्यान्सर समयमै पहिचान गर्न सके उपचार प्रभावकारी हुने भएकाले नियमित स्वास्थ्य परीक्षण, प्रारम्भिक पहिचान र समयमै उपचारका विषयमा समुदायमा सचेतना फैलाउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको आयोजकको भनाइ छ। साथै, क्यान्सर उपचार तथा पुनःस्थापनाको क्रममा रहेका व्यक्ति र परिवारलाई आवश्यक सामाजिक तथा भावनात्मक सहयोगबारे पनि कार्यक्रममार्फत सन्देश प्रवाह गरिनेछ। इन्फिनिट केयर्सका इकाइ प्रमुख दिजुप तुलाधरले पिंकवाकलाई केवल पदयात्रामा सीमित नभई सचेतना, आशा, साहस र ऐक्यबद्धताको सामूहिक अभियानका रूपमा अघि बढाउन खोजिएको बताउनुभयो। “पिंकवाक केवल एउटा पदयात्रा होइन, यो सचेतना, आशा, साहस र ऐक्यबद्धताको सामूहिक अभिव्यक्ति हो। स्तन क्यान्सरका बारेमा खुलेर कुरा गर्ने वातावरण निर्माण गर्नु, प्रारम्भिक पहिचानको महत्व बुझाउनु र क्यान्सरबाट प्रभावित व्यक्ति तथा परिवारको साथमा समुदायलाई उभ्याउनु हाम्रो मुख्य उद्देश्य हो,” उहाँले भन्नुभयो। पिंकवाक २०२६ इन्फिनिट केयर्सको नेतृत्वमा क्यान्सर केयर नेपाल, नेशनल अस्पताल तथा क्यान्सर सेन्टर, आईएसएस साउन्ड, नोभाला बायोटेक, पठाओ नेपाल, इसेवा, ह्याप्पी माइन्डस् र WOW (World of Women) को साझेदारीमा आयोजना हुँदैछ। नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटी, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाको सहयोग रहेको आयोजकले जनाएको छ। पिंकवाकको पहिलो संस्करण २०८० असोजमा आयोजना भएको थियो। उक्त कार्यक्रममा ६०० भन्दा बढी सहभागीले स्तन क्यान्सरसम्बन्धी जानकारीमूलक सामग्रीसहित नारायणचौर, नक्सालदेखि स्वयम्भूसम्म पदयात्रा गरेका थिए। दोस्रो संस्करणले पनि स्तन क्यान्सरसम्बन्धी सचेतना, प्रारम्भिक पहिचान, सामुदायिक सहभागिता तथा क्यान्सर प्रभावित व्यक्तिलाई सहयोग गर्ने उद्देश्यलाई निरन्तरता दिएको आयोजकले जनाएको छ। इन्फिनिट केयर्स, इन्फिनिट सफ्टवेयर सर्भिसेज नेपाल प्रालिको सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गतको सामुदायिक पहल हो। इन्फिनिट सफ्टवेयर सर्भिसेज नेपाल प्रालि बहुराष्ट्रिय आईटी सेवा तथा डिजिटल इन्जिनियरिङ कम्पनी इन्फिनिट कम्प्युटर सोलुसन्सको नेपालस्थित सफ्टवेयर विकास तथा आईटी सेवा केन्द्र हो। कम्पनीका अनुसार नेपालमा ६०० भन्दा बढी जनशक्ति कार्यरत छन्। त्यस्तै, क्यान्सर केयर नेपाल नेपालभर क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि, रोकथाम, प्रारम्भिक पहिचान तथा क्यान्सर प्रभावित बिरामीलाई आवश्यक सहयोग प्रदान गर्ने उद्देश्यले कार्यरत गैरनाफामूलक संस्था हो। पिंकवाक २०२६ सम्बन्धी थप जानकारी: pinkwalk.github.io

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar