कर्णाली प्रदेश उसु संघमा शाहीको नेतृत्व, ९ सदस्यीय नयाँ कार्यसमिती निर्वाचित

  • कालिका खवर
  • शनिबार, भदौ २०, २०८३
  • ललितपुर — गोविन्दबहादुर शाहीको अध्यक्षतामा कर्णाली प्रदेश उसु संघको नयाँ कार्यसमिति निर्वाचित भएको छ । सुर्खेतमा सम्पन्न कर्णाली प्रदेश उसु संघको दोस्रो अधिवेशनले शाहीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिती निर्विरोध निर्वाचित भएको हो ।

    कर्णाली प्रदेशका ७ जिल्लाका उसु संघका प्रतिनिधिहरूको उपस्थितिमा भएको अधिवेशनले उपाध्यक्षमा धर्मराज आचार्य र कृष्ण चालिसे तथा सचिवमा कृष्ण बुढा र कोषाध्यक्षमा धनबहादुर पुलामीलाई निर्वाचित गरेको छ । नयाँ कार्यसमिती सदस्यमा चन्द्र थापा, गोकर्ण शाही, तारा शाही र गंगा बुढा निर्विरोध भएका छन् ।

    नवनिर्वाचित अध्यक्ष गोविन्दबहादुर शाहीले कर्णाली प्रदेशमा उसु खेलको आधारलाई थप मजबुत बनाउँदै जिल्ला तहसम्म प्रशिक्षण तथा प्रतियोगिताका कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता जनाए । उनले खेलाडी, प्रशिक्षक, जिल्ला संघ तथा प्रदेश खेलकुद निकायसँग सहकार्य गर्दै कर्णालीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट उसु खेलाडी उत्पादन गर्ने आफ्नो मुख्य प्राथमिकता रहेको बताए ।

    अधिवेशनले नयाँ नेतृत्वसँगै कर्णाली प्रदेशमा उसु खेलको विकासले थप गति लिने अपेक्षा गरिएको छ। विशेषगरी ७ जिल्लामा रहेका उसु संरचनालाई सक्रिय बनाउँदै नियमित प्रशिक्षण, प्रतियोगिता र प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गर्न सके कर्णालीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने सम्भावना अझ बलियो हुने सहभागीहरूको विश्वास रहेको छ।

    प्रदेशमा उसु खेलको विकासका लागि सहकार्य र समन्वयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको थियो। नेपाल उसु महासंघका केन्द्रीय  उपाध्यक्ष हरि थापा , कर्णाली प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमाल र नेपाल उसु महासंघका सचिव निकेश श्रेष्ठले उसु संभावना बोकेको खेल भएकाले यसको विकासका लागि राज्यका हरेक तहबाट साथ सहयोग मिल्नुपर्ने बताए ।

    कार्यक्रममा कर्णाली प्रदेश तेक्वान्दो संघका अध्यक्ष तोपेन्द्र शाही, प्रदेश कराते महासंघका अध्यक्ष हेमन्त मल्ल, प्रदेश ब्याडमिन्टन संघका अध्यक्ष टंकबहादुर शाही तथा प्रदेश भलिबल संघका प्रतिनिधि लगायत विभिन्न खेल संघका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रममा बोल्दै सभाध्यक्ष हरि थापाले कर्णाली प्रदेशमा उसु खेलको विकासका लागि जिल्ला तहदेखि नै खेलाडीको पहिचान, प्रशिक्षण र अवसर विस्तार गर्नुपर्नेमा जोड दिए । उनले नयाँ नेतृत्वले खेलाडी र प्रशिक्षकको क्षमता विकाससँगै उसुलाई प्रदेशको प्रभावशाली खेलका रूपमा स्थापित गर्न भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

    कर्णाली प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालले कर्णालीमा खेलकुदको विकासका लागि प्रदेश खेलकुद परिषद् र विभिन्न खेल संघबीच सहकार्य आवश्यक रहेको बताए । उनले प्रतिभावान् खेलाडीलाई उचित प्रशिक्षण, प्रतियोगिताको अवसर र आवश्यक सहयोग उपलब्ध गराउन सबै पक्ष मिलेर अघि बढ्नुपर्ने धारणा राखे ।
    नेपाल उसु महासंघका सचिव निकेश श्रेष्ठले कर्णाली प्रदेशमा उसु खेलको सम्भावना निकै राम्रो रहेको बताउँदै नयाँ कार्यसमितिले खेलाडीको संख्या र गुणस्तर दुवै बढाउने गरी योजनाबद्ध रूपमा काम गर्नुपर्ने बताए ।

    उनले प्रदेशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित महासंघबाट आवश्यक समन्वय र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
    त्यस्तै, कर्णाली प्रदेश तेक्वान्दो संघका अध्यक्ष तोपेन्द्र शाही, प्रदेश कराते महासंघका अध्यक्ष हेमन्त मल्ल, प्रदेश ब्याडमिन्टन संघका अध्यक्ष टंकबहादुर शाही तथा प्रदेश भलिबल संघका प्रतिनिधिले कर्णालीमा खेलकुद क्षेत्रको समग्र विकासका लागि सबै खेल संघबीच आपसी सहकार्य, समन्वय र एकता आवश्यक रहेको धारणा राख्दै नवनिर्वाचित उसु संघलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar