इन्फिनिटी लघुवित्तका २२ कर्मचारीलाई संस्थागत नीति तथा अनुपालनसम्बन्धी पुनर्ताजगी तालिम

  • कालिका खवर
  • शनिबार, भदौ २०, २०८३
  • इटहरी । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, अनुगमन कार्यालय इटहरीले आफ्नो अनुगमनअन्तर्गत रहेका पाँचवटा शाखाका कर्मचारी तथा शाखा प्रबन्धकहरूका लागि एकदिने संस्थागत नीति तथा अनुपालनसम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न गरेको छ।

    संस्थाका अनुसार कर्मचारीहरूलाई संस्थाका नीति, नियम तथा अन्य महत्वपूर्ण विषयमा थप स्पष्ट जानकारी गराउँदै उनीहरूको कार्यक्षमता तथा क्षमता विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो। तालिममा पाँच शाखाका गरी २२ जना कर्मचारी तथा शाखा प्रबन्धकहरूको सहभागिता रहेको थियो।

    कार्यक्रममा संस्थाको आन्तरिक लेखापरीक्षण विभागका सहायक अमित गैरेको विशेष उपस्थिति रहेको थियो। गैरेले सहभागीहरूलाई स्वागत गर्दै तालिमको महत्व तथा उद्देश्यबारे जानकारी गराएका थिए।

    बिहान ७ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म सञ्चालन भएको तालिमको प्रशिक्षण अनुगमन अधिकृत उत्तम बाबु श्रेष्ठले गरेका थिए। कार्यक्रममा चिमडी शाखाका शाखा प्रबन्धक टीका बहादुर अधिकारीले सहजीकरण गरेका थिए।

    संस्थाले यस्ता पुनर्ताजगी तालिमले कर्मचारीहरूलाई संस्थागत नीति, नियम तथा अनुपालनका विषयमा थप दक्ष र जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar