बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख सहयोग गर्ने नाडाको निर्णय

  • कालिका खवर
  • बिहिबार, भदौ ११, २०८३
  • काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

    नाडाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा प्राकृतिक विपद्का कारण ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

    राष्ट्रिय विपद्को यस घडीमा नाडा राज्यको साथमा उभिने प्रतिबद्धता व्यक्त गर्दै उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यलाई प्रभावकारी बनाउन सरकारसँग काँधमा काँध मिलाएर अघि बढ्नुपर्ने जनाएको छ।

    नाडाले नेपालका सम्पूर्ण अटोमोबाइल व्यवसायीलाई एकबद्ध भई सहकार्यका साथ उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन समेत हार्दिक आह्वान गरेको छ।

    विपद्पछिको चुनौतीपूर्ण अवस्थामा सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सरकारी संयन्त्रले देखाएको तत्परता र अथक प्रयासप्रति नाडाले कृतज्ञता व्यक्त गरेको छ। प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकार, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको नाडाको भनाइ छ।

    तत्काल राहत तथा पुनरुत्थानका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. १० लाख (दश लाख रुपैयाँ) पठाउने निर्णय गरिएको नाडाका अध्यक्ष सुरेन्द्र उप्रेतीले जानकारी दिएका छन्।

    यसैबीच, महाविपद् नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेकै समयमा आएको उल्लेख गर्दै नाडाले अटो शो भने निरन्तर सञ्चालनमा रहने जनाएको छ।

    देशको आर्थिक गतिविधिलाई चलायमान राख्दै विपद्सँग जुध्नुपर्ने अवस्था रहेको भन्दै नाडाले भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ निरन्तर सञ्चालन गर्ने जानकारी दिएको छ।

    नाडाले विपद्को कठिन घडीमा सरकार, निजी क्षेत्र, व्यवसायी तथा आम नागरिक सबैको सामूहिक प्रयासबाट प्रभावित क्षेत्रको उद्धार, राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गर्दै सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोगका लागि हातेमालो गर्न अपिल गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar