भोटेकोशी विपति : तत्काल उद्धार र राहत प्याकेज घोषणा गर्न आजपाको माग

  • कालिका खवर
  • बुधबार, भदौ १०, २०८३
  • काठमाडौं । आम जनता पार्टी (आजपा)ले रसुवाको भोटेकोशी नदीमा आएको अप्रत्यासित र आकस्मिक भीषण बाढीका कारण ठुलो मात्रामा जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

    आजपा प्रवक्ता सुभाष साहले आज प्रेस वक्तव्य जारी गर्दै सरकार तथा सरोकारवाला निकायहरूसँग तत्काल उद्धार, राहत, उचित क्षतिपूर्ति र पुनःस्थापना सहितको दीर्घकालीन सुरक्षा रणनीतिका उपायहरू अवलम्बन गर्न माग गरेका छन् । साथै प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा गर्दै यस घटनाको सत्य–तथ्य बाहिर ल्याउन समेत उनले माग गरेका छन् ।

    आजपाले बाढी प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी कार्यलाई तीव्रता दिन, अलपत्र परेका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र तत्काल निःशुल्क भोजन, बसोबास तथा औषधोपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

    यसैगरी, बाढीका कारण घरबारविहीन भएका, निजी सम्पत्ति गुमाएका र विस्थापित भएका परिवारहरूलाई अविलम्ब उचित राहत तथा पुनःस्थापनाको प्याकेज घोषणा गर्न माग गरिएको छ । भोटेकोशी र यसका सहायक नदीहरूमा वर्षायाममा आउने आकस्मिक बाढीको पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन र नदी नियन्त्रणका लागि तटबन्ध लगायतका दीर्घकालीन उपायहरू अवलम्बन गर्न समेत आजपा प्रवक्ता साहले सरकारसँग आग्रह गरेका छन् ।

    आजपाले बाढीका कारण ज्यान गुमाउने नागरिकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै, बाढीमा परी घाइते भएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

    यस प्राकृतिक विपत्तिको घडीमा आजपाले भोटेकोशी तटीय क्षेत्रका प्रभावित नागरिकहरूको पीडामा साथ उभिने प्रतिबद्धता व्यक्त गरेको छ । अहिलेको विषम परिस्थितिमा उद्धार, राहत र सहयोग संकलन कार्यमा जुट्न आजपाले आफ्ना स्थानीय नेता, कार्यकर्ता तथा सम्पूर्ण जनसमुदायमा आह्वान गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar