नेपाल लाइफको ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ सम्पन्न, उत्कृष्ट कर्मचारी र शाखा सम्मानित

  • कालिका खवर
  • मङ्लबार, भदौ ९, २०८३
  • काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुईदिने ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ सम्पन्न भएको छ। काठमाडौंस्थित होटल याक एन्ड यतीमा भदौ १ र २ गते सञ्चालन भएको सम्मेलन ‘Lead, Aspire, Evolve’ नाराका साथ सम्पन्न भएको हो।

    सम्मेलनमा देशभरका सेल्स तथा मार्केटिङ क्षेत्रमा कार्यरत २५० भन्दा बढी कर्मचारीहरूको सहभागिता रहेको थियो। कम्पनीका वरिष्ठ सञ्चालक कमलेश कुमार अग्रवाल, विमल प्रसाद ढकाल, प्रबिन प्रकाश क्षेत्री तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी सम्मेलनको उद्घाटन गरेका थिए।

    कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ सञ्चालक कमलेश कुमार अग्रवालले नेपाल लाइफले २५ वर्षको गौरवपूर्ण यात्रा पूरा गर्दै नेपाली जीवन बीमा क्षेत्रमा विश्वास, स्थायित्व र नेतृत्वको इतिहास निर्माण गरेको बताए। उनले कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क (एफपीआई) संकलन गर्दै अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको उल्लेख गरे।

    अग्रवालले उक्त उपलब्धिका लागि कम्पनीसँग आबद्ध सम्पूर्ण हितधारकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि उत्साह, समर्पण र प्रतिबद्धताका साथ काम गर्न आग्रह गरे। उनले उच्च उपलब्धि हासिल गर्नु मात्र पर्याप्त नभई त्यसलाई निरन्तर कायम राख्न सबैको संयुक्त प्रयास, मेहनत र सहकार्य आवश्यक रहेको बताए।

    त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादनका लागि सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिँदै चालु आर्थिक वर्ष २०८३/८४ को व्यावसायिक लक्ष्य हासिल गर्न थप सक्रियता, अनुशासन र प्रतिबद्धताका साथ काम गर्नुपर्नेमा जोड दिए।

    उनले गत आर्थिक वर्षको व्यावसायिक उपलब्धिको समीक्षा गर्दै चालु आर्थिक वर्षका लागि कम्पनीले तय गरेका सेल्स तथा रणनीतिक योजनाबारे जानकारी गराएका थिए। उनले प्राप्त उपलब्धि कम्पनीका कर्मचारीहरूको सामूहिक मेहनत, समर्पण र सहकार्यको परिणाम भएको उल्लेख गर्दै अझ नयाँ उचाइ हासिल गर्न एकताबद्ध प्रयास आवश्यक रहेको बताए।

    सम्मेलनमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत, नेशनल सेल्स हेड, बिजनेस अपरेसन, प्रमुख वित्त अधिकृत, एजेन्सी तथा पोलिसी सर्भिसिङ, एजेन्सी ट्रेनिङ, सूचना प्रविधि, डिजिटल ट्रान्सफर्मेसन तथा मानव संसाधन विभागका प्रमुखहरूले आ–आफ्ना विभागको कार्यसम्पादन, उपलब्धि, चुनौती र आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण दिएका थिए।

    कार्यक्रममा गत आर्थिक वर्षको प्रगतिको समीक्षा गर्नुका साथै चालु आर्थिक वर्षका व्यावसायिक लक्ष्य, रणनीतिक प्राथमिकता, सेवा सुधार, डिजिटल रूपान्तरण, जनशक्ति विकास तथा लक्ष्य प्राप्तिका लागि अपनाइने कार्यदिशाबारे समेत जानकारी गराइएको थियो।

    सम्मेलनको अन्त्यमा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कायल, नेशनल सेल्स हेड उमापति पोखरेल तथा मानव संसाधन विभागका प्रतिनिधिहरूले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।

    त्यसैगरी आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने कर्मचारी, शाखा तथा उपशाखाहरूलाई विभिन्न १४ विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार यस सम्मेलनले नेपाल लाइफसँग आबद्ध कर्मचारीहरूमा नयाँ ऊर्जा, उत्साह र व्यावसायिक प्रतिबद्धता अभिवृद्धि गर्दै आगामी दिनमा कम्पनीको व्यावसायिक लक्ष्य हासिल गर्न थप प्रेरणा प्रदान गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar