रोयल इन्फिल्डले नेपालमा ल्यायो ‘क्लासिक ३५० गोरखा एडिसन’, मूल्य ५ लाख ९९ हजार

  • कालिका खवर
  • शुक्रबार, भदौ ५, २०८३
  • काठमाडौं । रोयल इन्फिल्डले नेपालको गोरखा परम्परा, साहस र वीरताको सम्मान गर्दै ‘क्लासिक ३५० गोरखा एडिसन’ नेपाली बजारमा सार्वजनिक गरेको छ। गोरखा समुदायको साहस, दृढता र अदम्य भावनाबाट प्रेरित यो विशेष संस्करणलाई नेपालको गौरवपूर्ण इतिहास र पहिचानसँग जोडेर तयार गरिएको कम्पनीले जनाएको छ।

    गोरखा एडिसन विशेष गोरखा ग्रीन रङमा उपलब्ध छ। मोटरसाइकलमा गोरखा पहिचानसँग जोडिएको क्रस खुकुरीको विशेष चिन्ह राखिएको छ। क्लासिक ३५० को मौलिक र परिचित डिजाइनलाई कायम राख्दै यस संस्करणमा गोरखा विरासत झल्काउने विशेष डिजाइन तथा फिचर थप गरिएको छ।

    रोयल इन्फिल्डका चिफ कमर्सियल अफिसर यादविन्दर सिंह गुलेरियाले क्लासिक ३५० नेपाली राइडरमाझ लामो समयदेखि लोकप्रिय रहेको बताए। गोरखा एडिसनमार्फत नेपालको पहिचानसँग गहिरो रूपमा जोडिएको गोरखा विरासतलाई सम्मान गर्न पाएको उनले बताए।

    नेपालका लागि रोयल इन्फिल्डका आधिकारिक वितरक अल्फा अटोमोटिभका प्रबन्ध निर्देशक हर्षवर्धन संघाईले क्लासिक ३५० ले नेपाली मोटरसाइकल पारखीमाझ विशेष स्थान बनाइसकेको बताए। उनका अनुसार गोरखा एडिसन नेपालको इतिहास, पहिचान र मूल्यलाई नयाँ ढंगले प्रस्तुत गर्ने प्रयास हो।

    क्लासिक ३५० गोरखा एडिसनमा क्लासिक सिरिजकै परिचित अपराइट राइडिङ पोस्चर, डिजाइन र जे–सिरिज इन्जिन उपलब्ध छ। सहज गियर सिफ्टका लागि यसमा असिस्ट एन्ड स्लिपर क्लच पनि दिइएको छ।

    मोटरसाइकलसँगै कम्पनीले ‘गोरखा कलेक्सन’ पनि सार्वजनिक गरेको छ। गोरखा विरासतबाट प्रेरित उक्त कलेक्सनमा राइडिङ गियर, छालाका बुट, हेल्मेट, हेडगियर, लाइफस्टाइल अपारेललगायत सामग्री समावेश छन्।

    कलेक्सनको डिजाइनमा क्रस खुकुरी, परम्परागत नेपाली ढाका बुनाइ तथा नेपाली हस्तकलाबाट प्रेरित तत्व प्रयोग गरिएको छ। गोरखा एडिसन ग्रीन, रेजिमेन्टल क्रिमसन, ट्याक्टिकल ओलिभ ग्रीन, म्याट ब्ल्याक र वार्म ब्रन्जजस्ता रङलाई कलेक्सनमा प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।

    रोयल इन्फिल्ड क्लासिक ३५० गोरखा एडिसनको मूल्य ५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यो मोटरसाइकल नेपालभर रहेका रोयल इन्फिल्डका आधिकारिक डिलरमार्फत उपलब्ध हुनेछ।

    सन् १९०१ देखि मोटरसाइकल उत्पादन गर्दै आएको रोयल इन्फिल्डलाई विश्वकै सबैभन्दा लामो समयदेखि निरन्तर उत्पादनमा रहेको मोटरसाइकल ब्रान्डका रूपमा चिनिन्छ। आइशर मोटर्स लिमिटेडअन्तर्गत रहेको कम्पनीले भारतसहित विश्वका ८० भन्दा बढी देशमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ।

    कम्पनीको मोटरसाइकल लाइनअपमा क्लासिक, बुलेट, हन्टर, मिटियर, हिमालयन, इन्टरसेप्टर, कन्टिनेन्टल जीटी, सुपर मिटियर, गुरिल्ला र शटगनलगायत मोडल रहेका छन्। रोयल इन्फिल्डले ‘फ्लाइङ फ्लिया’ ब्रान्डअन्तर्गत विद्युतीय मोटरसाइकलसमेत सार्वजनिक गरिसकेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar