नाडा अटो शोमा गाडी मात्र होइन, सवारीसाधनसँग जोडिएको सम्पूर्ण उद्योग देखाइने

  • कालिका खवर
  • शुक्रबार, भदौ ५, २०८३
  • काठमाडौं । नेपालमा यो महिना सवारीसाधनका नयाँ मोडल र प्रविधि हेर्नमा बितेको छ । अब आगामी साता भने गाडी खरिद गरेपछि आवश्यक पर्ने सेवा, उपकरण तथा वित्तीय सुविधाबारे जानकारी लिन सकिने भएको छ।

    भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’ करिब ३ लाख वर्गफिट क्षेत्रफलमा सञ्चालन हुनेछ। प्रदर्शनीमा २ सयभन्दा बढी स्टल रहनेछन् भने २३ यात्रुवाहक, १७ हल्का व्यावसायिक र १३ दुईपाङ्ग्रे गरी ५३ वटा सवारी ब्राण्ड सहभागी हुनेछन्।

    तर यसपटक नाडा अटो शोको विशेषता सवारी ब्राण्डमा मात्र सीमित छैन। प्रदर्शनीमा करिब ७० वटा कम्पनीले टायर, ब्याट्री, इन्जिन आयल, हेलमेट, बेयरिङ, ग्यास्केट, फिल्टर, डाइग्नोस्टिक उपकरण, ग्यारेज टुल्स, जीपीएस तथा टेलिमेटिक्स प्रणाली, एसेसरिज र ईभी चार्जिङ उपकरण प्रदर्शन गर्नेछन्।

    त्यसैगरी करिब १० वटा बैंक, वित्तीय संस्था र बीमा कम्पनीले अटो लोन, सवारी बीमा तथा विद्युतीय सवारीका लागि छुट्टै वित्तीय योजनासहित सहभागिता जनाउनेछन्। यसले उपभोक्तालाई गाडी खरिदसँगै त्यसपछि आवश्यक पर्ने वित्तीय तथा प्राविधिक सेवाबारे एउटै स्थानबाट जानकारी लिन सहज बनाउने आयोजकको अपेक्षा छ।

    नाडाका अनुसार गाडी छनोट गर्न उपभोक्ताले केही साता लगाउन सक्छन्, तर छनोट गरिएको सवारीसँग सम्बन्धित निर्णयको प्रभाव वर्षौंसम्म रहन्छ। त्यसैले सोरुममा मात्र केन्द्रित नभई वर्कसप, बैंक, बीमा कार्यालय, टायर पसल तथा अटो पार्ट्स उद्योगलाई समेत प्रदर्शनीमा समेटिएको हो।

    प्रदर्शनीलाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पार्ट्स र ग्यारेज उपकरण गरी छुट्टाछुट्टै क्षेत्रमा विभाजन गरिएको छ। यसबाट उपभोक्ताले सवारीसाधन खरिददेखि त्यसको सञ्चालन र मर्मतसम्भारसम्मका विषयमा एकैपटक जानकारी लिन सक्नेछन्।

    यस वर्षको प्रदर्शनीमा सहभागी सवारी ब्राण्डमा पनि भौगोलिक विविधता देखिनेछ। युरोपेली इन्जिनियरिङसहितको स्कोडा, मलेसियाको राष्ट्रिय ब्राण्ड प्रोटोन तथा चेरीअन्तर्गत ओमोडा र जेकु, जीडब्ल्यूएमलगायत चिनियाँ ब्राण्ड सहभागी हुनेछन्। जापानी, भारतीय, कोरियाली, चेक, मलेसियाली र चिनियाँ मूलका सवारीसाधन एउटै प्रदर्शनीस्थलमा देख्न सकिनेछ।

    विदेशी सहभागीका लागि ‘इन्टरनेसनल बिजनेस प्याभिलियन’ तथा स्वदेशी उत्पादन र एसेम्बलीका लागि ‘मेड इन नेपाल/मेड फर नेपाल’ प्याभिलियन समेत छुट्याइएको छ।

    नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अटो शोमा गाडी मात्र नभई गाडीलाई वर्षौंसम्म सञ्चालनमा राख्ने सम्पूर्ण उद्योगलाई देखाउनुपर्ने बताए। उनका अनुसार पाँच दशकअघि नेपालको अटोमोबाइल उद्योगको प्रदर्शनी एउटा कोठामै सीमित हुन सक्थ्यो भने अहिले तीन लाख वर्गफिट क्षेत्रफल आवश्यक पर्नु उद्योगको विस्तारको प्रमाण हो।

    ‘१८औं नाडा अटो शो २०२६’ भदौ ९ गतेदेखि भृकुटीमण्डपमा आयोजना हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar