एआई र डिजिटल प्रविधितर्फ अघि बढ्दै नेपाली अटोमोबाइल क्षेत्र, पूर्वाधार र दक्ष जनशक्ति अभाव चुनौती

  • कालिका खवर
  • आइतवार, साउन ३१, २०८३
  • काठमाडौं । नेपालमा अटोमोबाइल क्षेत्र तीव्र रूपमा विद्युतीय तथा डिजिटल प्रविधितर्फ अघि बढिरहेको भए पनि त्यसअनुसारको पूर्वाधार, डेटा व्यवस्थापन, अनुसन्धान, साइबर सुरक्षा र दक्ष जनशक्ति विकासमा अझै पर्याप्त काम हुन नसकेको सरोकारवालाहरूले बताएका छन्।

    नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘एआई एन्ड अटोमोटिभ टेक्नोलोजी: ड्राइभिङ द फ्युचर अफ मोबिलिटी’ विषयक संवादमा सहभागी उद्योग, सरकार, अनुसन्धान तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूले नेपालले सवारीसाधनलाई केवल आयात र बिक्रीको वस्तुका रूपमा नभई डेटा, प्रविधि, अनुसन्धान र नवप्रवर्तनको क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

    संवादमा वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सूर्यांश वैद्यले अटोमोबाइल क्षेत्रमा एआईको प्रयोग ट्राफिक व्यवस्थापन, सवारी सुरक्षा र व्यवसाय सञ्चालनमा समेत गर्न सकिने बताए। सवारीसाधनमा जडित सेन्सर तथा अन्य उपकरणबाट प्राप्त तथ्यांक विश्लेषण गरी प्रयोगकर्तालाई सुरक्षित, सहज र प्रभावकारी सेवा दिन सकिने उनको भनाइ छ।

    उनका अनुसार एआईको प्रयोगबाट सडकको अवस्था पहिचान, ड्राइभिङ शैली सुधार तथा रुट प्लानिङ गर्न सकिन्छ। सवारीको ब्याट्री सकिनुअघि नै उपयुक्त चार्जिङ स्टेसनको सुझाव दिनेदेखि मौसम तथा वर्षासम्बन्धी तथ्यांकलाई सवारी प्रणालीसँग जोडेर सडकको अवस्थाअनुसार ट्र्याक्सन कन्ट्रोल मोड परिवर्तन गर्नेसम्मका सम्भावना रहेको उनले बताए।

    तर नेपालमा तत्कालै अटोनोमस ड्राइभिङको प्रयोग सहज नरहेको वैद्यले बताए। यस्तो प्रविधिका लागि आवश्यक प्रशिक्षण डेटा प्रायः व्यवस्थित सडक, स्पष्ट लेन र अनुशासित ट्राफिक भएको वातावरणबाट आउने भएकाले नेपालको फरक सडक तथा ट्राफिक अवस्थालाई समेट्ने स्थानीय डेटा र अनुसन्धान आवश्यक रहेको उनले स्पष्ट पारे।

    सवारीसाधनबाट संकलित तथ्यांक सम्बन्धित सरकारी निकायसँग सुरक्षित रूपमा साझेदारी गर्न सके सडकको अवस्था, खाल्डाखुल्डी तथा पूर्वाधारसम्बन्धी समस्या पहिचान गर्न समेत सहयोग पुग्ने उनको भनाइ छ। भविष्यको मोबिलिटीको उद्देश्य नयाँ सवारीसाधन बिक्री गर्नु मात्र नभई मानिसलाई सुरक्षित, सहज र प्रभावकारी रूपमा एक स्थानबाट अर्को स्थानमा पुर्‍याउने प्रणाली विकास गर्नु हुनुपर्ने उनले बताए।

    विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका प्रमुख सल्लाहकार सञ्जय पौडेलले पनि आधुनिक अटोमोबाइल क्षेत्रमा डेटा व्यवस्थापन र सरकारी नियमनको आवश्यकता औंल्याए। विद्युतीय तथा प्रविधियुक्त सवारीसाधनको प्रयोग बढ्दै जाँदा सवारीसाधनबाट उत्पादन हुने डेटा, गुणस्तर परीक्षण, साइबर सुरक्षा र प्रविधि नियमनमा सरकारको भूमिका प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।

    कुनै वस्तु आयात गर्नुअघि र आयात भइसकेपछि त्यसको डेटा कसरी संकलन गर्ने, गुणस्तर कसरी मापन गर्ने र प्राप्त तथ्यांकलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा स्पष्ट प्रणाली आवश्यक रहेको पौडेलले बताए। सवारीसाधनमा सफ्टवेयर, कनेक्टिभिटी, सेन्सर र डिजिटल प्रणालीको प्रयोग बढ्दै जाँदा सवारीसम्बन्धी डेटा साइबर सुरक्षासँग समेत प्रत्यक्ष रूपमा जोडिने उनको भनाइ छ।

    उनले डेटा नेपालमै राख्ने सम्भावना, त्यसका लागि आवश्यक पूर्वाधार र लागतबारे नीतिगत अध्ययन गर्नुपर्ने बताए। साथै, नेपालमा नयाँ इनोभेसन ल्याब स्थापना गर्ने विषयमा समेत सरकारले प्राथमिकता निर्धारण गर्नुपर्ने उनको धारणा छ। सबै प्रविधिमा एकैपटक लगानी गर्नुभन्दा नेपालको आवश्यकता र आर्थिक सम्भावनाका आधारमा क्षेत्र छनोट गरेर अनुसन्धान अघि बढाउनुपर्ने उनले बताए।

    यसैगरी टेक्सस कलेज अफ म्यानेजमेन्ट एन्ड आईटीका सूचना प्रविधि निर्देशक डा. सुमन थापलियाले नयाँ प्रविधि भित्रिए पनि त्यसअनुसारको दक्ष जनशक्ति उत्पादनमा नेपाल कमजोर रहेको बताए। विद्युतीय तथा अत्याधुनिक सवारीसाधनको प्रयोग बढिरहेका बेला सेन्सर, स्वचालन, एआई तथा डिजिटल प्रणालीमा आवश्यक जनशक्ति उत्पादनमा शैक्षिक संस्थाले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।

    उनका अनुसार विश्वविद्यालयमा अझै प्रोग्रामिङ, वेब डेभलपमेन्ट, डेटाबेस र नेटवर्किङजस्ता परम्परागत विषयमा बढी जोड दिइन्छ। अब एआई, साइबर सुरक्षा, एम्बेडेड सिस्टम, रोबोटिक्स, एज कम्प्युटिङ, अटोमोटिभ सफ्टवेयर र डिजिटल फरेन्सिकजस्ता विषयलाई शिक्षामा प्राथमिकताका साथ समावेश गर्नुपर्ने उनले बताए।

    थापलियाले पाठ्यक्रममा ६० प्रतिशत कोर एकेडेमिक्स, २० प्रतिशत इमर्जिङ टेक्नोलोजी र २० प्रतिशत इन्डस्ट्री एप्लिकेसन राख्ने अवधारणा प्रस्तुत गरे। यसले विद्यार्थीलाई आधारभूत ज्ञानसँगै नयाँ प्रविधिको प्रयोग र उद्योगको वास्तविक आवश्यकताबारे बुझ्न सहयोग पुग्ने उनको भनाइ छ।

    नेपाल एप्लाइड म्याथमेटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्चकी कार्यकारी निर्देशक सन्ध्या सिटौलाले एआईलाई रोजगारी खोस्ने प्रविधिका रूपमा मात्रै हेर्न नहुने बताइन्। एआईले कामलाई सहज र प्रभावकारी बनाउनुका साथै अनुसन्धान, विश्लेषण र नयाँ सम्भावना पहिचानमा समेत सहयोग पुर्‍याइरहेको उनको भनाइ छ।

    उनले नेपालमा अनुसन्धानको इकोसिस्टम निर्माणका लागि दीर्घकालीन लगानी आवश्यक रहेको बताइन्। अनुसन्धानलाई खर्चका रूपमा नभई दीर्घकालीन लगानीका रूपमा हेर्नुपर्ने उल्लेख गर्दै उनले सरकारी तहमा समेत एआईको प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिइन्।

    सिटौलाका अनुसार प्रविधिको विकाससँगै डेटा सुरक्षा पनि महत्वपूर्ण विषय बनेको छ। आवश्यक पूर्वाधारमा लगानी गर्दै नेपाल उपभोक्ताको भूमिकाबाट माथि उठेर प्रविधि, अनुसन्धान र नवप्रवर्तनमा योगदान गर्ने मुलुकका रूपमा अघि बढ्नुपर्ने उनले बताइन्।

    संवादमा सहभागी वक्ताहरूले सरकार, निजी क्षेत्र, अनुसन्धान संस्था र शैक्षिक क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए। स्थानीय सडक तथा ट्राफिक अवस्थालाई समेट्ने अनुसन्धान, सुरक्षित डेटा साझेदारी, साइबर सुरक्षा, आधुनिक गुणस्तर परीक्षण उपकरण, एआई पूर्वाधार तथा प्रविधिमैत्री जनशक्ति विकासलाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको निष्कर्ष थियो।

    अटोमोबाइलमा एआई, सेन्सर, सफ्टवेयर, कनेक्टिभिटी, डेटा र स्वचालनको प्रयोग बढ्दै गएको अवस्थामा नेपालले पनि आफ्नो नीति, शिक्षा, अनुसन्धान र पूर्वाधारलाई सोहीअनुसार परिवर्तन गर्नुपर्ने देखिएको छ। अब नेपालको अटोमोबाइल क्षेत्र सवारीसाधन आयात र बिक्रीमा मात्र सीमित नभई डेटा, प्रविधि, अनुसन्धान र नवप्रवर्तनसँग जोडिएको नयाँ मोबिलिटी इकोसिस्टम तर्फ अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar