मधेसी कलाकार भएकै कारण विभेद भएको आरोप, निर्देशक दीपक प्रसाद आचार्यसँग सम्मानजनक छलफलको माग

  • कालिका खवर
  • सोमवार, असार २९, २०८३
  • काठमाडौं । चलचित्र चिरञ्जीवी भव: मा अभिनय गरिरहेकी कलाकार काजल कर्णले आफू मधेसी समुदायको कलाकार भएकै कारण विभेदमा परेको आरोप लगाएकी छन्। उनले आफूलाई पारिश्रमिक नदिई आफ्नो भूमिकामा अर्कै कलाकारलाई राखेर निर्माण टिमले सुटिङ निरन्तर अघि बढाएको दाबी गरेकी छन्।

    कर्णका अनुसार निर्देशक दीपक प्रसाद आचार्य र निर्माण टिमले आफूसँग छलफल नगरी आफ्नो भूमिकामा अर्को कलाकारलाई अभिनय गराउँदै सुटिङ जारी राखेका छन्। साथै, फेसबुक स्टाटसमार्फत आफूलाई गलत देखाउने प्रयास गरिएको र त्यसबाट मानसिक पीडा भोग्नुपरेको उनको भनाइ छ।

    पीडित कलाकार कर्णले आफूलाई मात्र होइन, आफ्नो समुदायलाई समेत घृणा गरिएको महसुस भएको बताएकी छन्। “म पीडित भएँ, मलाई घृणा गरियो, मेरो समुदायलाई घृणा गरियो। सहन नसकेर घरमै बसेको छु,” उनले भनेकी छन्।

    उनले कोशी प्रदेशमा कलाकारको हकहितका लागि स्थापित विभिन्न चलचित्रसम्बन्धी संघ–संस्थाले यस विषयमा चासो दिनुपर्ने माग गरेकी छन्। कोशी प्रदेशमै सुटिङ भइरहेको र सोही प्रदेशका निर्देशकको चलचित्रमा आफू अन्यायमा परेको भए पनि अहिलेसम्म न्याय नपाएको उनको गुनासो छ।

    कर्णले सुटिङ तत्काल रोक्दै सम्मानजनक वातावरणमा छलफल गरी समझदारीमा पुग्न निर्माण पक्षलाई आग्रह गरेकी छन्। साथै, कोशी प्रदेशभित्र रहेका चलचित्रकर्मी तथा सम्बन्धित संघ–संस्थाले मध्यस्थता गर्दै विवाद समाधानका लागि पहल गर्नुपर्ने उनको माग छ।

    यद्यपि, कलाकार काजल कर्णले लगाएका आरोपबारे निर्देशक दीपक प्रसाद आचार्य वा चिरञ्जीवी भव: निर्माण टिमको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। उनीहरूको धारणा प्राप्त भएपछि समाचार अद्यावधिक गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar