‘व्यवसायीको हित र ठमेलको समृद्धि हाम्रो प्राथमिकता’ : प्रश्रय राजभण्डारी

  • कालिका खवर
  • बिहिबार, असार २५, २०८३
  • काठमाडौं। ठमेल पर्यटन विकास परिषद्को २०८३ असार २७ गते हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारीले आफ्नो व्यवसायिक प्यानल औपचारिक रूपमा घोषणा गरेका छन्। ठमेल क्षेत्रको पर्यटन, व्यवसाय तथा समग्र विकासलाई केन्द्रमा राख्दै अनुभवी, सक्षम र व्यवसायमै सक्रिय व्यक्तिहरूलाई समेटेर प्यानल घोषणा गरिएको जनाइएको छ।
    प्यानल घोषणा कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारीले परिषद्लाई अझ प्रभावकारी, पारदर्शी र व्यवसायीमैत्री संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले ठमेललाई दक्षिण एशियाकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न परिषद्ले निजी क्षेत्र, स्थानीय सरकार तथा सरोकारवाला निकायसँग समन्वय गर्दै काम गर्नुपर्ने आवश्यकता औँल्याए।

    राजभण्डारीले भने, “ठमेल नेपालको पर्यटनको मुटु हो। यहाँका व्यवसायीको हकहित संरक्षण गर्दै पर्यटन प्रवर्द्धन, सुरक्षा व्यवस्थापन, सरसफाइ, सांस्कृतिक कार्यक्रमको प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय स्तरमा ठमेलको ब्रान्डिङ गर्ने स्पष्ट योजना लिएर हामी चुनावी मैदानमा आएका छौं। परिषद्लाई सबै व्यवसायीको साझा संस्था बनाउँदै परिणाममुखी नेतृत्व प्रदान गर्नु हाम्रो मुख्य उद्देश्य हो।”

    उनले आफ्नो प्यानलले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर व्यवसायीको साझा हित, संस्थागत सुशासन, नवीन पर्यटन प्रवर्द्धन, डिजिटल प्रविधिको प्रयोग, र ठमेल क्षेत्रको दिगो विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
    असार २७ गते हुने निर्वाचनमा आफ्नो व्यवसायिक प्यानललाई विजयी गराई ठमेलको समृद्धि, व्यवसायीको अधिकार संरक्षण र पर्यटन क्षेत्रको नयाँ युगको सुरुवातका लागि सम्पूर्ण सदस्य तथा मतदातासँग अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारीले सहयोग, समर्थन र अमूल्य मत प्रदान गर्न हार्दिक आग्रह गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar