ग्रामीण पर्यटन प्रवर्द्धनमा हातेमालो गर्दै कोशी प्रदेश पर्यटन कार्यालय र भिटोफ–नेपाल

  • कालिका खवर
  • सोमवार, असार २२, २०८३
  • काठमाडौं। कोशी प्रदेश पर्यटन कार्यालय, काकरभिटाका प्रमुख छविलाल खतिवडा र गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (VITOF-Nepal) को केन्द्रीय टोलीबीच आइतबार भिटोफ–नेपालको केन्द्रीय कार्यालय, ठमेलमा भेटघाट तथा समसामयिक पर्यटन विषयमा छलफल सम्पन्न भएको छ।

    छलफलमा ग्रामीण पर्यटनको दिगो विकास, स्थानीय समुदायको सहभागिता, होमस्टे प्रवर्द्धन, पर्यटन प्रवर्द्धनका सम्भावना तथा आगामी दिनमा दुवै संस्थाबीच सहकार्यका विभिन्न पक्षबारे विस्तृत विचार–विमर्श गरिएको थियो।

    बैठकको निष्कर्षस्वरूप कोशी प्रदेश पर्यटन कार्यालय, काकरभिटा र गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (VITOF-Nepal) बीच आगामी दिनमा ग्रामीण पर्यटनको विकास, पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन तथा क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य गर्दै अघि बढ्ने सहमति भएको छ। यस सहमतिले ग्रामीण पर्यटनको विकासमा थप गति दिने विश्वास व्यक्त गरिएको छ।

    यस अवसरमा कोशी प्रदेश पर्यटन कार्यालय, काकरभिटाका प्रमुख छविलाल खतिवडाले प्रदेश र स्थानीय तहबीचको समन्वयलाई सुदृढ गर्दै ग्रामीण पर्यटनलाई आर्थिक समृद्धिको आधारका रूपमा विकास गर्न आवश्यक रहेको बताए। उनले सरकारी निकाय र पर्यटन क्षेत्रमा क्रियाशील संस्थाहरूबीचको सहकार्यले पर्यटन प्रवर्द्धनका नयाँ सम्भावनाहरू सिर्जना हुने उल्लेख गर्दै भिटोफ–नेपालसँगको सहकार्य प्रभावकारी हुने विश्वास व्यक्त गरे।

    त्यसैगरी गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (VITOF-Nepal) का अध्यक्ष हरिशरण थपलियाले नेपालको ग्रामीण पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न भिटोफ–नेपाल निरन्तर सक्रिय रहेको बताउँदै कोशी प्रदेश पर्यटन कार्यालयसँग भएको सहकार्यले संस्थाको अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे। उनले स्थानीय संस्कृति, प्राकृतिक सम्पदा र सामुदायिक पर्यटनको संरक्षण तथा प्रवर्द्धनमार्फत ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखे।

    भिटोफ–नेपालका अनुसार  छलफलले संस्थाको ग्रामीण पर्यटन प्रवर्द्धन अभियानमा नयाँ ऊर्जा थपिएको अनुभूति गराएको छ। साथै आगामी दिनमा संयुक्त कार्यक्रम, अध्ययन भ्रमण, तालिम, पर्यटन प्रवर्द्धन अभियान तथा विभिन्न साझेदारीका गतिविधिहरू सञ्चालन गर्ने दिशामा दुवै पक्ष सकारात्मक रहेको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar