राष्ट्रपति रनिङ सिल्डमा बागमती टिम च्याम्पियन

  • कालिका खवर
  • शनिबार, जेष्ठ २३, २०८३
  • नवीन लुईटेल

    ललितपुर– १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि साविक विजेता बागमती प्रदेशले जितेको छ ।
    विद्यालय तहदेखि नै खेलकुदको जग बलियो बनाउने उदेश्यबाट संचालित यो प्रतियोगितामा सर्वाधिक २२ स्वर्ण, २१ रजत र १३ कांस्य पदक जित्दै बागमती विजेता बनेको हो ।
    राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश र नेपालय इन्टरनेसनल प्रा.लि. को सह–आयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश दोस्रो भयो । सुदूरपश्चिमले १९ स्वर्ण, ९ रजत र १४ कांस्य हात पा¥यो ।
    विद्यालय स्तरमा लुकेर रहेका प्रतिभाहरूलाई पहिचान गरी उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी बनाउने सबैभन्दा ठूलो र महत्वपूर्ण माध्यमका रुपमा रहेको राष्ट्रपति रनिङ सिल्डमा १२ स्वर्ण, १५ रजत र १८ कांस्य जितेको लुम्बिनी प्रदेश तेस्रो भयो ।
    विभिन्न ६ खेलका ६६ स्वर्णपदकका लागि भएको प्रतिस्पर्धाबाट ५ स्वर्ण, २ रजत र १८ कांस्य पदकसहित गण्डकी प्रदेश चौथो भयो ।
    ४ स्वर्ण, ७ रजत र १७ कांस्य पदक आफ्नो पोल्टामा पारेको कोशी प्रदेश पाँचौ स्थानमा रह्यो ।
    ३ स्वर्ण, ६ रजत र ६ कांस्यपदसहित मधेश प्रदेश छैटौं हुँदा २ स्वर्ण, ५ रजत र १२ कांस्यपदक सहित कर्णाली प्रदेश सातौं एवं पुछारमा रह्यो ।
    ३ दिने प्रतियोगितामा सात प्रदेशबाट ६ सय ८६ खेलाडीले एथलेक्टिस, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसुमा प्रतिस्पर्धा गरेका थिए ।

    भलिबलमा गण्डकी र बागमतीलाई उपाधि
    केन्द्रीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत भलिबलको उपाधि गण्डकी र बागमतीले जितेका छन् । गण्डकी छात्रतर्फ तथा बागमती छात्रातर्फमा च्याम्पियन बनेका हुन् ।
    निर्णायक सेटमा विजेता बनेका दुवै टोलीले लुम्बिनीलाई पराजित गरेका थिए । विजेताद्वयले सुरुका २ सेटमा पछि परेको स्थितिलाई उल्ट्याउदै उपाधि जितेका हुन् ।
    त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको छात्र फाइनलमा गण्डकीले लुम्बिनीलाई २०–२५, २४–२६, २५–२२, २५–१७ र १५–११ को सेटमा पराजित गरे । सुदूरपश्चिम तेश्रो भयो ।
    छात्राको उपाधि भिडन्तमा बागमतीले लुम्बिनीलाई २१–२५, २२–२५, २५–१२, २५–२१ र १५–८ ले हरायो । कर्णालीले तेश्रो स्थानमा चित्त बुझायो ।
    भलिबलमा बाग्मती र गण्डकीले १–१ स्वर्ण पदक हात पारेका छन् । लुम्बिनीले २ रजत पदक आफ्नो पक्षमा पार्दा सुदुरपश्चिम र कर्णालीले १–१ काँस्य पदक जिते । मधेश प्रदेश र कोशी प्रदेश भलिबलमा पदकविहीन रहे ।

    कबड्डीमा लुम्बिनीको क्लीनस्वीप
    केन्द्रीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत कबड्डीमा लुम्बिनीले दुबै स्पर्धामा स्वर्ण जित्दै क्लीनस्वीप ग¥यो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको कबड्डीको छात्र÷छात्रा दुवैमा लुम्बिनीले उपाधि जितेको हो । दुवैमा लुम्बिनीको फाइनल प्रतिद्वन्द्वी बागमती रह्यो ।
    छात्रको फाइनलमा लुम्बिनीले बागमतीलाई ३७–३२ ले पराजित ग¥यो । कर्णाली र गण्डकी संयुक्त रुपमा तेश्रो भए ।
    छात्राको उपाधि भिडन्तमा लुम्बिनीले बागमतीलाई ३५–२९ ले हरायो । सुदूरपश्चिम र मधेश तेश्रो स्थानमा रहे ।
    कबड्डीमा लुम्बिनीले २ स्वर्ण पदक जित्दा बाग्मतीले २ रजत पदक जितेको छ । कर्णाली , गण्डकी, सुदुरपश्चिम र मधेशले समान १–१ काँस्य पदक जितेका छन् । कबड्डीमा कोशी प्रदेश पदकविहीन रह्यो ।

    उसुमा सुदूरपश्चिमको वर्चस्व
    सुदूरपश्चिम प्रदेशले विभिन्न १२ स्पर्धामा प्रतिस्पर्धा भएको उसुमा वर्चस्व राख्यो । सुदूरपश्चिमले ६ स्वर्ण ३ रजत र १ काँस्य पदक जित्दा बागमतीले ३ स्वर्ण ६ रजत र २ काँस्य पदक जित्यो ।
    यसैगरी लुम्बिनी र कर्णालीले समान १ स्वर्ण १ रजत र ३ काँस्य पदक जिते । गण्डकी प्रदेशले १ स्वर्ण हात पार्दा कोशीले १ रजत र ८ काँस्य पदक आफ्नो पोल्टामा पा¥यो । मधेश प्रदेशले भने उसुमा कुनै पनि पदक जित्न सकेन ।

    एथलेटिक्समा बागमतीकै दबदबा
    १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको एथ्लेटिक्सतर्फ बाग्मती प्रदेशको दबदबा रह्यो । एथलेटिक्समा सर्वाधिक ११ स्वर्ण ७ रजत र ५ कांस्य पदक सहित बाग्मतीको वर्चस्व रह्यो । एथलेटिक्समा समावेश विभिन्न २६ स्पर्धामा सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ३ रजत र ४ कांस्य पदक जित्दा लुम्बिनी प्रदेशले ५ स्वर्ण, ९ रजत र ५ कांस्य पदक आप्नो पोल्टामा पा¥यो । यसैगरी गण्डकी प्रदेशले २ स्वर्ण, २ रजत र ७ कांस्य तथा कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत र ३ कांस्य जिते । स्वर्णविहीन कोशी प्रदेशले २ रजत र २ काँस्य पदक मात्रै आफ्नो नाममा लेखायो । मधेश प्रदेशले एथ्लेटिक्समा कुनै पनि पदक जित्न सकेन ।
    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अन्तिम दिन ८ स्पर्धाको फाइनल भएको थियो । छात्र २ सय मिटर दौडमा लुम्बिनीका भगवानदास लोहार पहिलो भए । उनले निर्धारित दूरी २२.६४ सेकेन्डमा पूरा गरे । सो स्पर्धाको छात्रामा लुम्बिनीकी गरिमा चौधरीले निर्धारित दूरी २७.३७ सेकेन्डमा तय गर्दै स्वर्ण जितिन् ।
    छात्र ३ हजार मिटर दौडमा कर्णालीका अनिल शाही पहिलो बने । उनले ९ मिनेट २०.१ सेकेन्डमा दौड सकाए । उक्त स्पर्धाको छात्रामा लुम्बिनीकी अन्जुली मल्ल पहिलो भइन् । अन्जुलीले निर्धारित दूरी तय गर्न ११ मिनेट ०३.६ सेकेन्ड समय खर्चिन् ।
    छात्र ट्रिपलजम्पमा सुदूरपश्चिमका विक्रमनाथ पहिलो भए । उनले १३.५५ मिटर जम्प गरे । त्यसै स्पर्धाको छात्रामा ११.१० मिटर जम्प गरेकी बागमतीकी अनिशा थारु पहिलो भइन् । ४ गुणा १ सय मिटर रिलेको छात्रमा लुम्बिनी तथा छात्रामा बागमती प्रदेश शीर्ष स्थानमा रहे ।
    एथलेटिक्समा २ व्यक्तिगत र १ टिममा गरी जम्मा ३ जुनियर राष्ट्रिय कीर्तिमान बने । छात्र हाइजम्पमा बागमतीका अविनाश सुनारले १.८६ मिटर जम्प गर्दै कीर्तिमान कायम गरे ।
    छात्रा ४ सय मिटर दौडमा बागमतीकी भगवती खड्काले हिट चरणमा निर्धारित दूरी ५८.९४ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाइन् । भगवतीले कीर्तिमानी एकसहित जम्मा ४ स्वर्ण जितिन् । भगवतीले ४ सय मिटर दौड बाहेक ८ सय मिटर दौड, ४ गुणा १ सय र ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण जितेकी हुन् ।
    छात्रा ४ गुणा ४ सय मिटर रिलेमा अतित थापा, आर्यन राना मगर, अंकित रानाभाट र सुदिप भण्डारी सम्मिलित गण्डकी टोलीले निर्धारित दूरी ३ मिनेट २७.९ सेकेन्डमा तय गर्दै कीर्तिमान रचे ।

    तेक्वान्दोमा बाग्मती पहिलो
    राष्ट्रपति रनिङ शिल्डमा तेक्वान्दोतर्फ बाग्मती नै अगाडी रह्यो । सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा भएको प्रतिस्पर्धामा बागमती प्रदेशले ५ स्वर्ण ३ रजत र ३ काँस्य पदक जित्यो ।
    १२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा सुदूरपश्चिम र मधेशले समान २–२ स्वर्ण जिते । सुदुरले थप २ रजत र ३ काँस्य पदक जित्दा मधेशले २ रजत र २ काँस्य हात पा¥यो । लुम्बिनीले १ स्वर्ण ३ रजत र ५ काँस्य पदक पोल्टामा पार्दा कोशी र गण्डकीले समान १ स्वर्ण १ रजत र ४ काँस्य पदक जितेका छन् ।

    कराँतेमा कोशी प्रदेश शिर्ष स्थानमा
    राष्ट्रपति रनिङ शिल्डमा कोशी प्रदेश शिर्ष स्थानमा रहेको छ । कीर्तिपुरस्थित कभर्डहलमा भएको करातेमा कोशीले सर्वाधिक समान ३ स्वर्ण ३ रजत र ३ काँस्य पदक जितेको छ । समान ३ स्वर्ण जितेपनि लुम्बिनीले थप ५ काँस्य पदक जित्दै दोस्रो भयो । सदूरपश्चिमले ३ स्वर्ण र ४ कांस्य पदक हात पारेको छ । बागमतीले २ स्वर्ण ३ रजत र ५ काँस्य पदक जितेको छ । मधेशले १ स्वर्ण ४ रजत र ३ काँस्य पदक आफ्नो पक्ष्मा पार्दा कर्णालीले २ रजत र १ काँस्य पदक तथा गण्डकीले ३ काँस्य पदक जितेको छ । यो खेलमा १२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

    नयाँ जुनियर राष्ट्रिय कीर्तिमान
    १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता नयाँ जुनियर राष्ट्रिय कीर्तिमान पनि बनेका छन् । प्रतियोगिताको छात्र हाइजम्प, छात्रा ४ सय मिटर दौड होस् या छात्र ४ गुणा ४ सय मिटर रिलेमा कीर्तिमान बनेको छ । गण्डकी प्रदेशले एथलेटिक्सको छात्र ४ गुणा ४ सय मिटर रिलेमा बिहीबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा अतित थापा, आर्यन राना मगर, अंकित रानाभाट र सुदिप भण्डारी सम्मिलित गण्डकी टोलीले निर्धारित दूरी ३ मिनेट २७.९ सेकेन्डमा तय गर्दै कीर्तिमान रचेका हुन् । यसअघि ३ मिनेट ३०.९ सेकेन्डको कीर्तिमान बागमती प्रदेशका प्रवीण राना मगर, हस्त सुनार, निरज शाह र सन्तबहादुर दराइको नाममा थियो । उनीहरुले उक्त कीर्तिमान गत संस्करणमा बनाएका थिए ।
    यस्तै बागमती प्रदेशका अविनाश सुनारले छात्र हाइजम्पमा र भगवती खड्काले छात्रा ४ सय मिटर दौडमा गत बुधबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अविनाशले १.८६ मिटर जम्प गर्दै आफ्नै नाममा रहेको १.८२ मिटरको कीर्तिमान सुधार गरे । १.८२ को कीर्तिमान अविनाशले गत साता सम्पन्न बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बनाएका थिए । कोशी प्रदेशका टंक यादव दोश्रो र गण्डकी प्रदेशका सनुन चौधरी तेश्रो भए ।
    छात्रा ४ सय मिटर दौडमा भगवतीले हिट चरणमा निर्धारित दूरी ५८.९४ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । यसअघि १ मिनेट ०१.१९ सेकेन्डको कीर्तिमान सुदूरपश्चिम प्रदेशकी संगीता विकको नाममा थियो । फाइनलमा भने भगवतीले निर्धारित दूरी ५९.११ सेकेन्डमा तय गर्दै स्वर्ण जितिन् ।

    विजेतालाई राखेपका सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रीका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार र सल्लाहकार राजु सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
    पदक विजेतालाई करिब १२ लाख नगद पुरस्कार वितरण गरिएको प्रतियोगिता व्यवस्थापन तथा सञ्चालन समितिका सचिव मीनकुमार शर्माले जनाएका छन् ।
    प्रतियोगितामा सातै प्रदेशबाट ९८ का दरले जम्मा ६ सय ८६ खेलाडी सहभागी थिए । विभिन्न ६ खेल समावेश प्रतियोगितामा ६६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।
    एथलेटिक्समा २६, भलिबल र कबड्डीमा समान २–२ तथा कराते, तेक्वान्दो र उसुमा समान १२–१२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।
    प्रतियोगिताको १७ औं संस्करण कोशी प्रदेशमा फागुन १९ देखि २२ गतेसम्म हुने भएको छ । प्रतियोगिताको उद्घाटनकै दिन बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशका सदस्य–सचिव विप्लव घोषलाई झण्डा हस्तान्तरण गर्नुभएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar