विश्व दूध दिवसमा विद्यालयका विद्यार्थीलाई एक गिलास दूध वितरण

  • कालिका खवर
  • सोमवार, जेष्ठ १८, २०८३
  • ललितपुर । विश्व दूध दिवस २०८३ को अवसरमा “दुग्ध क्षेत्रको दिगो विकास : पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार” भन्ने मूल नारासहित ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा विद्यालय तहका विद्यार्थीलाई एक गिलास दूध वितरण तथा सेवन कार्यक्रम सम्पन्न गरिएको छ।

    पशु सेवा कार्यालय ललितपुरको आयोजनामा भएको कार्यक्रममा कार्यालय प्रमुख सुजा वाग्लेको अध्यक्षता रहेको थियो भने कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा कोन्ज्योसोम गाउँपालिका–५ का वडा अध्यक्ष विजय स्याङताङ विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कृष्णमान लामाले दुग्ध क्षेत्र ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै दूध उत्पादन, प्रशोधन र उपभोगलाई प्रोत्साहन गर्न स्थानीय तहले आवश्यक सहयोग गरिरहेको बताए। उनले बालबालिकाको पोषण सुधारका लागि विद्यालयस्तरमै दूध सेवन संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए।

    कार्यक्रममा बोल्दै दुग्ध विकास सहकारी संस्था लिमिटेडका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले दूध केवल पोषणको स्रोत मात्र नभई किसानको आयआर्जन र राष्ट्रिय अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएको बताए। उनले दुग्धजन्य उत्पादनको उपभोग वृद्धि, गुणस्तरीय उत्पादन तथा बजार व्यवस्थापनमार्फत दुग्ध क्षेत्रलाई थप सुदृढ बनाउन सकिने धारणा राखे। साथै उनले बालबालिकालाई नियमित दूध सेवन गराउने बानीले स्वस्थ र सक्षम नागरिक निर्माणमा योगदान पुग्ने बताए।

    कार्यक्रमअन्तर्गत विद्यालय तहका विद्यार्थीलाई एक गिलास दूध वितरण गरी सामूहिक रूपमा दूध सेवन गराइएको थियो। सहभागीहरूले विश्व दूध दिवसले दुग्ध उत्पादन, पोषण सुरक्षा र किसानको आर्थिक समृद्धिबारे जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar