कोशी प्रदेशसभामा प्रतिपक्षको नाराबाजी, पूर्वमुख्यमन्त्री राईद्वारा माइक खोस्ने प्रयास

  • कालिका खवर
  • बुधबार, जेष्ठ १३, २०८३
  • विराटनगर : संशोधनको समय नदिई नीति तथा कार्यक्रम पारित गरेको भन्दै प्रतिपक्षी दलका सांसदहरूले बुधबार कोशी प्रदेशसभा बैठकमा तीव्र विरोध र नाराबाजी गरेका छन्। संसदीय प्रक्रिया पूरा नगरी नीaति तथा कार्यक्रम पारित गरिएको भन्दै प्रतिपक्षी दलका सांसदहरूले बैठक सुरु हुनासाथ विरोध जनाएका हुन्। विरोध र अवरोधका बीच सभामुख अम्बरबहादुर विष्टले कार्यसूचीमा रहेका कार्यक्रमहरू अगाडि बढाउन खोजेपछि प्रतिपक्षी सांसदहरूले रोष्ट्रम घेराउ गर्दै नाराबाजी सुरु गरेका थिए।

    सोही क्रममा पूर्वमुख्यमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र राईले रोष्ट्रममा राखिएको माइक खोस्ने प्रयास गरेपछि मर्यादापालकहरूले उनलाई रोकेका थिए। प्रतिपक्षको निरन्तरको विरोधका बीच सभामुख विष्टले संसद्लाई जानकारी गराउँदै संशोधनको समय नदिइएको नभई, तोकिएको समयभित्र कुनै पनि संशोधन प्रस्ताव दर्ता नभएपछि मात्रै प्रक्रिया अघि बढाएर नीति तथा कार्यक्रम पारित गरिएको प्रष्ट पारे।

    उनले नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा नभई प्रतिपक्षी दलहरूको असहमतिसहित बहुमतले पारित भएको विषयलाई संसद्को अभिलेखमा उल्लेख गरिएको जानकारी समेत दिए। प्रतिपक्षी दलका सांसदहरूको लगातारको नाराबाजी र अवरोधका कारण संसद् अगाडि बढ्न नसकेपछि सभामुख विष्टले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए। कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम गत सोमबारको बैठकबाट पारित भइसकेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar