बाह्रबिसेमा जलविद्युत आयोजनाविरुद्ध स्थानीयको बृहत् विरोध

  • कालिका खवर
  • आइतवार, जेष्ठ ३, २०८३
  • सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका क्षेत्रमा निर्माणाधीन कालिका हाइड्रोपावर लिमिटेड अन्तर्गतको भोटेकोशी–५ जलविद्युत परियोजना विरुद्ध स्थानीय बासिन्दा तथा प्रभावित समुदायले बृहत् विरोध प्रदर्शन गरेका छन्।

    परियोजनाको सुरुङ निर्माणका क्रममा गरिने ठूला ब्लास्टिङका कारण उत्पन्न हुने तीव्र आवाज र भूकम्पजस्तै कम्पनले स्थानीय बस्तीहरू जोखिममा परेको भन्दै प्रभावितहरू आन्दोलनमा उत्रिएका हुन्।

    घरहरू चर्किए, स्थानीय त्रसित
    स्थानीयका अनुसार ब्लास्टिङका कारण बाह्रबिसे नगरपालिका वडा नम्बर ५, ३, ४, ८ र ९ तथा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ का विभिन्न बस्तीमा रहेका घरहरू चर्किन थालेका छन्।
    घरहरू भत्किने जोखिम बढेपछि स्थानीय वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, असक्त तथा बालबालिकामा चरम त्रास फैलिएको स्थानीयहरूले बताएका छन्।

    ब्लास्टिङका कारण पशुपन्छीहरूमा समेत प्रत्यक्ष असर परेको र उनीहरूलाई नियन्त्रणमा राख्न कठिन भइरहेको स्थानीयको गुनासो छ।

    बाह्रबिसे पुल क्षेत्रमा चक्काजाम
    विरोध कार्यक्रममा सहभागी स्थानीयहरूले परियोजनाविरुद्ध नाराबाजी गर्दै आफ्नो जिउधनको सुरक्षा सुनिश्चित गर्न माग गरेका थिए। आन्दोलनका क्रममा बाह्रबिसे पुल क्षेत्रमा केही समय सवारी आवतजावत अवरुद्ध हुँदा अरनिको राजमार्ग को यातायात सेवा प्रभावित बनेको थियो।

    प्रभावित क्षेत्रका युवा स्र्याङ्बो तामाङ, फुरतेम्बा शेर्पा, निकेश श्रेष्ठ र शान्त तामाङलगायतले स्थानीयका समस्याको तत्काल समाधान नभए अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
    आन्दोलनकारीहरूले परियोजनाको ब्लास्टिङ कार्यलाई वैज्ञानिक र सुरक्षित ढंगबाट सञ्चालन गर्न तथा क्षतिग्रस्त घरहरूको उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।

    जेठ ४ गते वार्ताका लागि नगरपालिकाको आह्वान
    स्थानीयको आन्दोलन र सडक अवरोधका कारण राजमार्गको आवतजावत प्रभावित भएपछि बाह्रबिसे नगरपालिका ले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    समस्या समाधानका लागि नगर प्रमुख बालकृष्ण बस्नेत ले जेठ ४ गते सोमबार दिउँसो ४ बजे नगर कार्यपालिकाको कार्यालयमा हाइड्रोपावर पक्ष र आन्दोलनकारी प्रतिनिधिबीच छलफलका लागि वार्ता आह्वान गरेका छन्।

    नगरपालिकाले संवाद र सहमतिमार्फत समस्या समाधान गर्न दुवै पक्षलाई आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar