विदेशबाट अरबौँको मल खरिद गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : मन्त्री चौधरी

  • कालिका खवर
  • शुक्रबार, जेष्ठ १, २०८३
  • काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले विदेशबाट अरबौँको मल खरिद गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएकी छन् ।

    सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा मन्त्री चौधरीले स्वदेशमा नै मल कारखाना वा अन्य कुनै विकल्प सिर्जना गरेर भएपनि विदेशबाट अरबौँको मल खरिद गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएकी हुन् ।

    नेपालमा नै पर्याप्त मल उत्पादन गर्न सके मल खरिदका लागि छुट्ट्याइने अरबौँ रकम कृषि क्षेत्रको विकासमा उपयोग गर्न सकिने उनको भनाइ छ । मन्त्री चौधरीले रासायनिक मलको आयातमा मात्रै मन्त्रालयको झण्डै ५० प्रतिशत बजेट खर्च हुने गरेको उल्लेख गरिन् ।

    उनले कृषि पेसालाई मर्यादित र आकर्षक बनाउन नीतिगत सुधारका लागि मन्त्रालय अघि बढेको जानकारी दिइन् । कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउने, किसानहरूको उत्पादनलाई बजारीकरण गर्ने लगायतका विषयमा आफू गम्भीर रहेको उनले बताइन् । उनले कृषकलाई राज्यले उचित सहजीकरण गर्न सके राम्रो उत्पादन र सहज रूपमा बजारसँग जोड्न सकिने धारणा राखिन् ।

    बैठकमा समिति सदस्यहरूले कृषि उत्पादनहरूको बजारीकरणका क्रममा कृषकहरू मारमा पर्ने गरेको भन्दै बिचौलियाको हस्तक्षेपलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए । साथै उनीहरूले रासायनिक भन्दा प्राङ्गारिक मलको प्रयोगलाई बढवा दिने ल्याउनुपर्ने समेत बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar