श्रमिक दिवस विशेष: हारको खरानीबाट उठ्ने ‘विजय-घोष’ -जीवन-दर्शन र सफलताको महामन्त्र

हरि शरण जमकटेल
हरि शरण जमकटेल
  • शुक्रबार, बैशाख १८, २०८३
  • आज मे १, अन्तर्राष्ट्रिय श्रमिक दिवस। यो दिवस केवल बिदा मनाउने दिन होइन। यो त पसिनाको सम्मान गर्ने, पौरखको उत्सव मनाउने र हारका बीचबाट जितको बाटो खोज्ने महान् अवसर हो। आजको यस विशेष दिनमा, ती तमाम हातहरूलाई नमन जसले ढुङ्गा चिरेर सडक बनाए र माटो खोस्रेर भविष्य उमारे।
    हाम्रो समाज सधैँ ‘जित’ को प्रशंसा गर्छ। तर ‘हार’ को महानता सिकाउन बिर्सिन्छ। एउटा श्रमिकले जबसम्म माटोमा आफ्नो पसिना हराउँदैन, तबसम्म सुनौलो बाली जन्मिंदैन। एउटा तारा जबसम्म खस्दैन, तबसम्म नयाँ ब्रह्माण्डको सिर्जना हुँदैन। त्यसैले हार अन्त्य होइन। श्रमिकको जीवनमा आउने अभाव र असफलता अर्को विराट सुरुवातको पूर्वाभ्यास हो। यदि तपाईं आज हार्नु भएको छ भने खुसी हुनुहोस्। तपाईं अब फेरि नयाँ भएर जन्मिनका लागि ‘रित्तो’ हुनु भएको छ।

    जीवनको असली स्वाद महलको विलासमा होइन, कार्यक्षेत्रको पसिना र चोटमा हुन्छ। श्रमिकको शरीरमा लागेका ठेलाहरू र घाउहरू कमजोरी होइनन्। ती त जीवनको युद्धमैदानमा प्राप्त गरेका ‘तक्मा’ हुन्। सफलताको पहिलो सूत्र यही हो— जुन दिन तपाई हारसँग डराउन छोड्नुहुन्छ, त्यही दिनदेखि तिपाईलाई हराउन सक्ने शक्ति यो ब्रह्माण्डमा जन्मिने छैनन्। हार त केवल एउटा भ्रम हो, जुन तपाईंको साहस जाँच्न समयले खडा गरेको अस्थाई पर्खाल मात्र हो।
    श्रमिकको जीवन किनारा र छालको संघर्ष जस्तै हो। छाल हरेक पटक आउँछ र किनारमा ठोकिएर टुक्रिन्छ। तर उसले आउन छोड्दैन। उसले हारलाई नै आफ्नो ‘धर्म’ बनाएको छ। किनारा स्थिर छ। उसले चोट सहन्छ तर आफ्नो स्थान छोड्दैन। जीवनमा कहिले ‘किनारा’ बन्नुपर्छ— जहाँ धैर्यको बाँध नटुटोस्। कहिले ‘छाल’ बन्नुपर्छ— जहाँ जति पटक ठोकिए पनि फेरि उठ्ने साहस नमरोस्। तपाईंको जिन्दगीको डुङ्गा तबसम्म डुब्दैन, जबसम्म तपाईंले आफ्नो मनभित्र ‘निराशाको पानी’ पस्न दिनुहुन्न।

    जित्नका लागि सारा संसार बाँकी छ। तर त्यो जितको बाटो तपाईंको आफ्नै पैतालाका फोकाहरूबाट सुरु हुन्छ। सफलताको कुनै गन्तव्य हुँदैन। यो त लड्दै र उठ्दै अघि बढ्ने एउटा निरन्तर प्रक्रिया हो।
    पसिनाको मूल्य: भाग्यको भरोसामा बस्नेहरूले त्यति नै पाउँछन्, जति मिहिनेत गर्ने श्रमिकले छोडिदिएका हुन्छन्।समयको पदचाप: सूर्य बादलसँग डराएर कहिल्यै अस्ताउँदैन। तपाईं पनि आफ्नो पौरख फैलाउन कहिल्यै नहिचकिचाउनुहोस्।

    हामी सबै एक दिन हार्नेछौँ— त्यो हार मृत्यु हो। तर मर्नु भन्दा अगाडि यस्तो बाँचौँ कि मृत्यु आफैँ तपाईंको पौरखको अगाडि नतमस्तक होस्। जित्नका लागि कसैको काँध चढ्नु पर्दैन। केवल आफ्नै स्वाभिमानलाई मर्न नदिनुहोस्। यदि तपाईं असफल भएर पनि फेरि उठ्ने आँट राख्नुहुन्छ भने, तपाईं नै यो युगको असली ‘महानायक’ हो।

    हे पौरखी योद्धा! उठ्नुहोस, आफ्ना आँखाहरू पुछ र क्षितिजतिर हेर्नुहोस, त्यो उदाउँदो सूर्यले तपाईंकै परिश्रमको वन्दना गरिरहेको छ। तपाईंको हारको खरानीबाट नै सफलताको ‘फिनिक्स’ चरा जन्मनेछ। याद राख्नुहोस्— जित्नका लागि जन्मिनु त एउटा संयोग मात्र हो, तर हारेर पनि जित्ने साहस बटुल्नु असली पुरुषार्थ हो। यो संसार तपाईंको हो, यो समय तपाईंको हो। हार स्वीकार्नेहरू इतिहास पढ्छन्, हारलाई चिरेर अघि बढ्ने श्रमिकहरू इतिहास रच्छन्।
    आजैदेखि अठोट गरौँ— हामी लड्नेछौँ, सिक्नेछौँ, टुट्नेछौँ तर कहिल्यै रोकिने छैनौँ। हामी जन्मिएकै एक दिन हार्नका लागि हौँ, तर जबसम्म सास छ, यो सारा संसार जित्नका लागि हामी पूर्ण छौँ।

    श्रमिक दिवसको सबैमा हार्दिक शुभकामना!
    उठ! जाग! र लक्ष्य प्राप्ति नभएसम्म विश्राम नलेऊ।

    लेखकको बारेमा

    हरि शरण जमकटेल

    हरि शरण जमकटेल

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar