चिनियाँ कम्पनीले व्यापक एआई चोरी गरेको ह्वाइट हाउसको दाबी

  • कालिका खवर
  • शुक्रबार, बैशाख ११, २०८३
  • वासिङ्टन डीसी । विदेशी तत्त्वहरूले अमेरिकी कृत्रिम बौद्धिकता (एआई) प्रविधि चोरी गर्न औद्योगिक स्तरका अभियान सञ्चालन गरिरहेको ह्वाइ हाउसले जनाएको छ । यसको प्रतिरोधका लागि अमेरिकी एआई कम्पनीहरूसँग अझ नजिकबाट काम गर्ने बताइएको छ । विज्ञान तथा प्रविधि नीतिका निर्देशक माइकल क्राट्सियोसले एक आन्तरिक मेमोमा विशेषगरी चीनमा आधारित विदेशी संस्थाहरू अमेरिकी कम्पनीहरूको प्रविधि दुरुपयोग गरिरहेको नयाँ जानकारी प्राप्त भएको उल्लेख गरेका छन् ।

    उनका अनुसार “डिस्टिलेसन” नाम गरेको प्रक्रियामार्फत ती कम्पनीहरूले अमेरिकी एआई प्रविधिलाई मूलतः नक्कल गर्ने प्रयास गरिरहेका छन् । यस प्रक्रियामा हजारौँ प्रयोगकर्ता खाताहरू प्रयोग गरी एआई प्रणालीसँग अन्तरक्रिया गरिन्छ र गोप्य जानकारी निकालेर आफ्नै मोडेल विकासमा प्रयोग गरिन्छ ।

    यस्तो गतिविधिले अमेरिकी अनुसन्धान र विकासलाई व्यवस्थित रूपमा कमजोर बनाउने र गोप्य जानकारीमा पहुँच हासिल गर्ने उद्देश्य राखेको मेमोमा बताइएको छ । यसलाई रोक्न ह्वाइट हाउसले एआई कम्पनीहरूसँग आक्रमणका तरिका र संलग्न समूहबारे थप जानकारी शेयर गर्ने, कम्पनीहरूसँग समन्वय बढाउने, जोखिम पहिचान र नियन्त्रणका लागि मापदण्ड विकास गर्ने र यस्ता गतिविधिमा संलग्न विदेशी पक्षलाई जबाफदेही बनाउने उपाय खोज्ने जस्ता चार मुख्य कदम चाल्ने जनाएको छ ।

    यद्यपि, दोषी ठहरिएका विदेशी संस्थामाथि कस्तो खालको कारबाही गरिने भन्नेबारे मेमोमा स्पष्ट योजना उल्लेख गरिएको छैन । यस विषयमा वासिङ्टनस्थित चिनियाँ दूतावासले अमेरिकी आरोपको विरोध गर्दै चिनियाँ प्रविधि विकास आफ्नै मेहनत र अन्तर्राष्ट्रिय सहकार्यको परिणाम भएको जनाएको छ । साथै अमेरिकी पक्षले चिनियाँ कम्पनीहरूलाई अनुचित रूपमा दबाब दिने प्रयास गरेको आरोप पनि लगाएको छ । एआई क्षेत्रमा काम गर्ने प्रमुख कम्पनीहरू ओपनएआई र एन्थ्रोपिकले यस्ता “डिस्टिलेसन” गतिविधिको सामना गरिरहेको स्वीकार गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar