निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय

  • कालिका खवर
  • बुधबार, फाल्गुन २०, २०८२
  • काठमाडौँ । गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बुधवार गृहसचिव राजकुमार श्रेष्ठको नेतृत्वमा मन्त्रालयमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक बसेको थियो ।

    गृह सचिव श्रेष्ठले प्रजिअहरुसँग निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनबारे जानकारी लिएका हुन् । करिब ३ घण्टा लामो बैठकमा निर्वाचनको तयारी र सुरक्षा व्यवस्थापनको विषयमा केन्द्रित रहेको मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन् ।

    उनले भनिन्–  ‘प्रमुख जिल्ला अधिकारीहरूबाट निर्वाचनको सबै तयारी पूरा भएको र सुरक्षा अवस्था सामान्य रहेको जानकारी गराइएको छ ।’

    गृहसचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई मजबुत र प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् । छलफलसँगै मन्त्रालयले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

    गृह मन्त्रालयले शान्ति सुरक्षाको अवस्था, निर्वाचनको दिन अपनाउनुपर्ने सतर्कता र सुरक्षा संवेदनशीलताबारे समीक्षा गर्दै निर्वाचनको तयारी पूरा भएको जानकारी दिएको हो ।

    बैठकमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सबै कर्मचारी, सुरक्षा संयन्त्र र निर्वाचन सामग्री मतदान स्थलमा पुगेको जानकारी गराएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar