चीनले सुरु गर्‍यो एआईमा आधारित रोबोट रेस्टुरेन्ट

  • कालिका खवर
  • आइतवार, माघ १८, २०८२
  • काठमाडौं । पूर्वी चीनको हाङ्झाउ शहरमा एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधिमा आधारित रोबोट प्रयोग गरिएको रेस्टुरेन्टले परीक्षण सञ्चालन सुरु गरेको छ । उक्त रेस्टुरेन्टमा एआई सञ्चालित रोबोटिक आर्मले खाना पकाउनेदेखि पस्किएर ग्राहकलाई दिनेसम्मको काम गरिरहेको छ ।

    रेस्टुरेन्टका कर्मचारीका अनुसार यहाँ १०० भन्दा बढी परिकार उपलब्ध छन् । रोबोटले कराईमा सामग्री खन्याउने, चलाउने र चलाएर भुट्ने काम गर्दै केही मिनेटमै खाना तयार गर्छ । तयार भएको परिकार सिधै प्लेटमा राखेर ग्राहकसम्म पुर्‍याउने काम गर्दछ ।

    रेस्टुरेन्टमा खाना चाखेका एक ग्राहकले स्वाद सन्तोषजनक भएको प्रतिक्रिया दिएका छन् । “खाना स्वादिलो छ र मेरो रुचिअनुसारकै छ । अलि नरम भएको भए अझ राम्रो हुन्थ्यो,” उनले भने । अन्य केही ग्राहकका लागि भने यो अनुभव बाल्यकालको विज्ञान–कथा (साइ–फाइ) सपना जस्तै लागेको छ । एक ग्राहकले भने, “सानो हुँदा कार्टुनमा रोबोटले खाना पकाएको देख्थेँ । अहिले त्यो बाल्यकालको सपना पूरा भएको जस्तो लाग्यो ।”

    हाल उक्त रेस्टुरेन्टमा १० भन्दा बढी रोबोट सञ्चालनमा छन् । तीमध्ये केहीले खाना पकाउने, नुडल्स र कफी बनाउने काम गर्छन् भने केही रोबोटले भुइँ सफा गर्ने काम गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar