इरानमा प्रदर्शनका क्रममा हजारौंको मृत्यु भएको खामेनीको स्वीकारोक्ति

  • कालिका खवर
  • आइतवार, माघ ४, २०८२
  • काठमाडौं । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले हालै देशभर भएका प्रदर्शनका क्रममा हजारौं मानिसको मृत्यु भएको पहिलोपटक सार्वजनिक रूपमा स्वीकार गरेका छन् ।

    कडा दमनका कारण अन्तर्राष्ट्रिय रूपमा आलोचना भइरहेको बेला आएको यो स्वीकारोक्ति इरानी नेतृत्वका लागि असामान्य मानिएको छ । शनिबार टेलिभिजनमार्फत सम्बोधन गर्दै खामेनीले गत डिसेम्बरको अन्त्यतिर आर्थिक सङ्कट र व्यापक राजनीतिक असन्तोषका कारण सुरु भएका प्रदर्शनमा ‘केही हजार’ मानिसको ज्यान गएको बताएका हुन् ।

    उनले केही मृत्यु ‘अमानवीय र निर्दयी अवस्थाका कारण’ भएको उल्लेख गरे पनि यसको दोष इरानी सुरक्षा निकायमाथि नलगाई अमेरिका तथा अन्य विदेशी शक्तितर्फ संकेत गरे । खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनलाई उक्साएको आरोप लगाउँदै उनलाई ‘अपराधी’को संज्ञा दिए ।

    प्रारम्भमा महँगी र जीवनयापनको बढ्दो खर्चविरुद्ध सुरु भएका प्रदर्शन पछि सरकारविरोधी आन्दोलनमा रूपान्तरित भएको खामेनीको भनाइ छ । उनले प्रदर्शनकारीहरू विदेशी शक्तिद्वारा प्रयोग गरिएको दाबी गर्दै ‘अपराधी’लाई कारबाहीबिनाको छुट नदिइने चेतावनी पनि दिए ।

    मानव अधिकार संस्थाहरूले भने प्रदर्शन र सुरक्षा बलबीचको झडपमा ३ हजारभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरेका छन् । इन्टरनेट सेवा पटक–पटक बन्द गरिएकाले वास्तविक तथ्याङ्क पुष्टि गर्न कठिन भएको जनाइएको छ ।

    खामेनीको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै ट्रम्पले इरानमा ‘नयाँ नेतृत्व खोज्ने समय आएको’ टिप्पणी गरेका छन् । पोलिटिकोसँगको अन्तर्वार्तामा ट्रम्पले खामेनीलाई हिंसाका लागि जिम्मेवार ठहर गर्दै नेतृत्व गर्न अयोग्य भएको आरोप लगाए ।

    “एक देशको नेताका रूपमा उनले देशलाई पूर्ण रूपमा नष्ट गरेका छन् र कहिल्यै नदेखिएको स्तरको हिंसा प्रयोग गरेका छन्,” ट्रम्पले भने, “नेतृत्व डर र मृत्यु होइन, सम्मानमा आधारित हुनुपर्छ ।” उनले इरानलाई कमजोर नेतृत्वका कारण विश्वकै सबैभन्दा खराब बसोबासयोग्य देशमध्ये एक समेत भने ।

    यसैबीच, खामेनीले सामाजिक सञ्जाल ‘एक्स’मा पनि अमेरिकाविरुद्ध आरोप दोहोर्‍याउँदै हालको आन्दोलन अमेरिकाद्वारा योजनाबद्ध भएको दाबी गरेका छन् । “हालको विद्रोह अमेरिकाले योजना बनाएको हो । अमेरिकाको लक्ष्य इरानलाई निल्नु हो,” उनले लेखेका छन् ।

    यद्यपि, केही साताको प्रदर्शन र सुरक्षा कारबाहीपछि तेहरानसहित प्रमुख सहरहरूमा जनजीवन क्रमशः सामान्य बन्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar