हङकङमा लमजुङ सेवा समितीद्वारा पहिलो भलिबल प्रतियोगिता र BBQ महोत्सव भव्य रूपमा सम्पन्न

  • कालिका खवर
  • मङ्लबार, मंसिर २, २०८२
  • लमजुङ । लमजुङ सेवा समिती हङकङले पहिलोपटक आयोजना गरेको पुरुष–महिला खुला भलिबल प्रतियोगिता तथा सांस्कृतिक BBQ कार्यक्रम हङकङमा भव्य रूपमा सम्पन्न भएको छ। व्यस्त शहरमा बसे–उठे गर्ने नेपाली समुदायको उत्साहपूर्ण सहभागिताले कार्यक्रम सुरुदेखि अन्त्यसम्म रंगीन र जीवन्त बनेको आयोजकले जनाएको छ। खेलकुदसँगै सांस्कृतिक तत्वको समावेशले कार्यक्रमलाई समुदायबीचको ठूलो उत्सवका रूपमा स्थापित गरेको छ।

    महिला समूहमाअन्तर्गत सात टोलीबीच प्रतिस्पर्धा हुँदा ‘आधिखोला स्याङ्जा’ उत्कृष्ट खेल प्रदर्शन गर्दै ‘लमजुङ कप 2025’ उपाधि हात पार्न सफल भयो। फाइनलमा आधिखोला स्याङ्जाले पर्वत क्लब हङकङलाई पराजित गर्दै च्याम्पियन बनेको हो। यसपटक महिला प्रतियोगितामा देखिएको प्रतिस्पर्धात्मकता, अनुशासन र कौशलले हङकङमा महिला खेलाडीहरूको क्षमतालाई उजागर गरेको थियो।
    पुरुष समूहमामा पुन क्लब हङकङ, हलेसी क्लब, मकाउ लमजुङ, आधिखोला स्याङ्जा, घान्द्रुक क्लबसहित आठ टोलीबीच रोचक भिडन्त भएको थियो। नेपालबाट आएका राष्ट्रिय खेलाडीहरूको उपस्थिति भएकाले पुरुष समूहको प्रतिस्पर्धा झन् रोमाञ्चक बन्यो। फाइनलमा घान्द्रुक क्लब हङकङले हलेसी क्लब हङकङलाई पराजित गर्दै यस वर्षको उपाधि आफ्नो नाममा लेखाउन सफल भयो।
    महिला तर्फ पर्वत क्लब हङकङकी रसना गुरुङ ‘उत्कृष्ट खेलाडी’ घोषित भइन् भने पुरुष तर्फ घान्द्रुक क्लबका राष्ट्रिय खेलाडी सफल बी.के. ‘म्यान अफ द टुर्नामेन्ट’ बने। खेलसँगै आयोजना गरिएको BBQ कार्यक्रममा सेल रोटी, भुटन, लमजुङे विशेष परिकारलगायत नेपाली स्वादका खानाहरूले सहभागी र दर्शकको मन जिते। संगीत, नृत्य र सामुदायिक वातावरणले कार्यक्रमलाई अझ उत्साहपूर्ण बनाएको थियो।

    आयोजक समितीका अध्यक्ष श्याम कुमार गुरुङ, सचिव ओम गुरुङ तथा स्वयंसेवकहरूको सक्रियताले कार्यक्रम सहज र सफल रूपमा सम्पन्न भएको समितीले जनाएको छ। लमजुङ सेवा समितीले यस्तो कार्यक्रममा नेपाली समुदायबीच एकता, खेलमैत्री सम्बन्ध र सांस्कृतिक पहिचान बलियो बनाउन सहयोग पुगेको बताउँदै आगामी वर्षहरूमा कार्यक्रमलाई अझ विस्तृत र व्यवस्थित रूपमा आयोजना गर्ने योजना सार्वजनिक गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar