दोस्रो संस्करणको एनपिएल आजदेखि कीर्तिपुरमा सुरु, फ्लड लाइटसहित ३२ खेल हुने

  • कालिका खवर
  • सोमवार, मंसिर १, २०८२
  • काठमाडौँ । नेशनल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दका अनुसार प्रतियोगिताको औपचारिक शुभारम्भ अपरान्ह २ बजे हुनेछ भने उद्घाटन खेल ४ बजे खेलाइनेछ। मङ्सिर २७ गतेसम्म सञ्चालन हुने एनपिएलमा लिग चरण, तीन प्लेअफ र फाइनल गरी ३२ खेल समावेश छन्।

    यस पटक स्तरोन्नत गरिएको त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लड लाइटको व्यवस्था मिलाइएको छ, जसले प्रतियोगितामा दर्शकको उत्साह बढाएको छ। उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ।

    रङ्गशालामा १० हजार दर्शक सीटसहित नयाँ प्यारापिट निर्माण गरिएकोले क्रिकेट प्रेमीले व्यवस्थित रुपमा खेल हेर्न पाउनेछन्। फ्लड लाइटको कारण एनपिएलका खेल रातिसमेत विश्वस्तरका मैदानझै सञ्चालन गर्न मिल्ने क्यानले जनाएको छ। सहरी विकास मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदमार्फत आइतबार साँझ मात्र स्तरोन्नत संरचना क्यानलाई हस्तान्तरण गरेको थियो।

    प्रतियोगितामा विजेता टोलीले रु १ करोड १० लाख प्राप्त गर्नेछ। जनकपुर बोल्ट्सले अघिल्लो संस्करणमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि जितेको थियो। उपविजेताले रु ५१ लाख, तेस्रोले रु २५ लाख र चौथो भएपछि रु १५ लाख पाउने छन्।

    साविक विजेता जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोली प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन्। क्यानले यस संस्करणबाट करिब रु ४० करोड आम्दानी गर्ने लक्ष्य राखेको छ।

    क्यानले दैनिक ९,४५० टिकट बिक्रीमा राखेको छ। पहिलो दिनको खेलका सबै टिकट दुई दिनअघि नै बिक्री भइसकेका छन्। शनिबारको उद्घाटन खेलका लागि सामान्य टिकट रु ५०० र प्रिमियम टिकट रु १५०० तोकिएको छ। लिग चरणका अन्य खेलमा टिकट मूल्य रु ५०० र १००० हुनेछन् भने प्लेअफपछि सामान्य टिकट रु १,००० र प्रिमियम रु २,००० पर्नेतर छ। सिजनल टिकटको मूल्य भने रु १५ हजार तोकिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar