सिटी होटल लिमिटेडको प्रतिशेयर नेटवर्थ ४.१ रुपैयाँले वृद्धि

  • कालिका खवर
  • आइतवार, कार्तिक ३०, २०८२
  • काठमाडौं । नेपालको पहिलो हायात सेन्ट्रिक ब्रान्डको होटल सञ्चालक सिटी होटल लिमिटेडको प्रतिशेयर नेटवर्थमा उल्लेखनीय वृद्धि भएको छ। कम्पनीले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो त्रैमासको तुलनामा प्रतिशेयर नेटवर्थ ४.१ रुपैयाँले बढेर ८४.९३ रुपैयाँ पुगेको हो। अघिल्लो त्रैमासमा यो रकम ८०.८३ रुपैयाँ थियो।

    हकप्रद शेयर जारी गरेसँगै कंपनीको नेटवर्थ सुधारिएको हो। हकप्रदबाट संकलित रकम बैंक ऋण भुक्तानीमा प्रयोग गर्ने कम्पनीको घोषणाले दोस्रो त्रैमासदेखि ब्याज खर्चमा उल्लेखनीय कमी आउने संचालकहरूले विश्वास लिएका छन्। कम्पनीले गत आर्थिक वर्षमा मात्र २६ करोड ४३ लाख रुपैयाँ ब्याज तिरेको थियो। हकप्रदबाट संकलित रकममार्फत ३०–३५ प्रतिशत ब्याज भार घट्ने अनुमान गरिएको छ।

    सिटी होटलले पछिल्लो समय सञ्चालन सुधार, नयाँ व्यावसायिक पहल र वित्तीय भार न्यूनीकरणमा ठोस कदम चालेको छ, जसको प्रत्यक्ष प्रभाव कम्पनीको आम्दानी र नगद प्रवाहमा परिरहेको छ। लाभको यात्रालाई सुदृढ बनाउन कम्पनीले सुधारात्मक दृष्टिकोण र नयाँ आम्दानी स्रोत विस्तारलाई प्राथमिकता दिँदै आएको छ।

    पहिलो त्रैमासिक प्रतिवेदनमा ११ वटा प्रमुख रणनीति समावेश छन्, जसमा—

    • कर्पोरेट कार्यक्रम र निजी समारोह आकर्षित गर्न बैंक्वेट तथा क्याटरिङ सेवामा सुधार

    • गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय संस्था तथा दूतावाससम्बन्धी कार्यक्रम विस्तार

    • स्थानीय बजारमार्फत व्यापार वृद्धि

    • व्यवसायको नियमित समीक्षा गरी शेयरधनीलाई उच्च प्रतिफल दिने नीति

    • आगामी दिनमा आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलसँग सम्बन्धित महासंघ तथा क्लबहरूसँग सहकार्य
      — लगायतका रणनीतिहरू समावेश गरिएको छ।

    रणनीतिक योजनाअन्तर्गत कम्पनीले क्यासिनो सञ्चालनको तयारी समेत गरिरहेको छ। करिब दुई महिनाभित्र सञ्चालनमा आउने क्यासिनोले उच्च मार्जिनसहित राजस्व वृद्धि गर्ने भएकाले कम्पनीलाई निरन्तर लाभदायी बन्न मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ। साथै, होटल परिसरमा नयाँ जिम तथा स्पा सञ्चालनको तयारी पनि भइरहेको छ, जसले उच्च श्रेणीका ग्राहक आकर्षणमा योगदान पुर्‍याउनेछ।

    यससँगै, कम्पनीले आयस्रोत थप विस्तार गर्न प्रयोगमा नआएका होटलका स्थानहरू दीर्घकालीन भाडामा उपलब्ध गराउने योजना बनाएको छ। यस कदमले नियमित भाडा आम्दानी सुनिश्चित भई सञ्चालन खर्च व्यवस्थापनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    समग्रमा, सिटी होटल लिमिटेडले आर्थिक बोझ न्यूनीकरण, व्यावसायिक सुधार र नयाँ आम्दानी मोडेल विस्तारमार्फत आगामी त्रैमासहरूमा अझ सुदृढ वित्तीय प्रदर्शन गर्ने संकेत दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar