गरिमा विकास बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न, १०.५३ प्रतिशत लाभांश पारित

  • कालिका खवर
  • बिहिबार, कार्तिक २७, २०८२
  • काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारणसभा बिहीबार कास्कीको पोखरा महानगरपालिका–स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ ।

    साधारणसभाले शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस शेयरको करसहित) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    सभा मार्फत बैंकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन लगायतका विवरण स्वीकृत गरिएका छन् । साथै, आ.व. २०८२/८३ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने निर्णय समेत गरिएको छ ।

    विशेष प्रस्ताव अन्तर्गत सभाले अधिकृत पूँजी बढाएर रु. ६ अर्ब १० करोड पुर्‍याउने, केन्द्रीय कार्यालयलाई लाजिम्पाटबाट बालुवाटारस्थित आफ्नै भवनमा स्थानान्तरण गर्ने, छाप र लोगो परिवर्तन गर्ने तथा प्रबन्ध–पत्र र नियमावली संशोधन गर्ने प्रस्तावहरू पनि पारित गरेको छ ।

    हाल विकास बैंकको चुक्ता पूँजी रु. ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७.५७ रहेकोमा, ६ प्रतिशत बोनस शेयर वितरणपछि चुक्ता पूँजी रु. ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७.२२ पुग्नेछ ।

    देशभर १२६ शाखा कार्यालय र ५१ एटिएम मार्फत सेवा विस्तार गरिरहेको बैंकले नवीनतम डिजिटल बैंकिङ प्रविधि प्रयोग गरी ग्राहकलाई सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar