जेनजी आन्दोलनपश्चात् अर्थतन्त्रमा सुधारको संकेत, राष्ट्र बैंकको प्रतिवेदनमा सकारात्मक संकेतहरू

  • कालिका खवर
  • मङ्लबार, कार्तिक २५, २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले गत भदौ महिनामा भएको जेनजी आन्दोलनले अर्थतन्त्रमा केही क्षति पुर्‍याए पनि अहिले सुधारको संकेत देखिन थालेको जनाएको छ। राष्ट्र बैंकका अनुसार आन्दोलनपश्चात बनेको नयाँ सरकारले शान्ति–सुरक्षा, सुशासन र पुनर्निर्माणलाई प्राथमिकता दिँदै आर्थिक सुधारका कार्य अघि बढाएपछि अर्थतन्त्रमा क्रमशः सकारात्मक प्रभाव परिरहेको छ।

    राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन’ अनुसार ढिलो मनसुनका कारण कृषि क्षेत्रमा केही नकारात्मक असर परेको र आन्दोलनको क्रममा अर्थतन्त्रमा क्षति पुगेको उल्लेख छ। तर, त्यसपश्चात सरकारका तदारुक कदमहरूले समग्र आर्थिक वातावरणमा सुधार ल्याएको प्रतिवेदनले औंल्याएको छ।

    प्रतिवेदनका अनुसार, आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा मधेस प्रदेशमा ढिलो मनसुनका कारण धानलगायत वर्षे बाली प्रभावित भएर कृषि उत्पादन वृद्धिदरमा कमी आएको छ। त्यस्तै, भदौ २३ र २४ गतेको आन्दोलनका कारण विभिन्न आर्थिक गतिविधिहरू अवरुद्ध भएका थिए।

    तर आन्दोलनपछि बनेको सरकारले शान्ति–सुरक्षा कायम गर्ने, सुशासन सुधार गर्ने, प्रभावित व्यवसायलाई राहत प्रदान गर्ने, पुनर्निर्माणमा सहुलियत दिने जस्ता कदम चालेकाले अर्थतन्त्र पुनः सक्रिय बन्दै गएको राष्ट्र बैंकको विश्लेषण छ।

    राष्ट्र बैंकले मुद्रास्फीति समेत न्यून रहनु, आयातित वस्तुको मूल्य घट्नु र बजार स्थिर रहनुले उपभोक्ता मुद्रास्फीति लक्षित सीमाभित्र रहने अनुमान गरेको छ।

    औद्योगिक क्षेत्रमा, चालु आर्थिक वर्षको पहिलो छ महिनामा निर्माण र जलविद्युत् उप–समूहको योगदान बढ्ने अपेक्षा गरिएको छ। नेपालकै पहिलो सुरुङ राजमार्ग नागढुंगा–नौबिसे सुरुङमार्ग सञ्चालनको तयारीले यातायातमा सहजता ल्याउने र राजधानी आवागमनमा सुधार हुने उल्लेख छ।

    ऊर्जा क्षेत्रमा आगामी वर्ष राष्ट्रिय प्रसारणमा थपिने नयाँ जलविद्युत् परियोजनाहरूले आर्थिक विकासमा टेवा पुग्ने अनुमान गरिएको छ। तर, रसुवागढी–केरुङ नाकामा आएको बाढी–पहिरोका कारण कच्चा पदार्थ र औद्योगिक वस्तुको आपूर्तिमा अवरोध भएकोले केही औद्योगिक उत्पादनमा नकारात्मक असर पर्ने चेतावनी दिइएको छ।

    विदेशी रोजगारीमा जाने संख्यामा उल्लेख्य वृद्धि भएसँगै विप्रेषण आप्रवाह उत्साहजनक रहने देखिएको छ। जेनजी आन्दोलनपश्चात् केही समय विदेशी पर्यटक आगमन घटे पनि पछिल्ला महिनामा सुधार देखिएकाले पर्यटकीय आय र समग्र आर्थिक गतिविधि दुवैमा वृद्धि हुने अपेक्षा गरिएको छ।

    प्रतिवेदनले पूर्वाधार क्षेत्रमा पनि सुधारको गति देखाएको छ,  सडक, पुल, जलविद्युत् आयोजना, प्रसारण लाइन र सुरुङमार्गहरूमा निर्माण कार्य तीव्र भएको, सूचना प्रविधिको पहुँच विस्तार भएको र मानव विकासमा पछाडि परेका क्षेत्रहरूमा बजेट विनियोजन बढाइएको उल्लेख छ।

    तर, भोटेकोशीमा आएको बाढीले पुल, सडक, जलविद्युत् आयोजना र रसुवाको ड्राइ पोर्टमा क्षति पुर्‍याएकोले पूर्वाधार क्षेत्रमा केही नकारात्मक प्रभाव पर्ने राष्ट्र बैंकको निष्कर्ष छ।

    आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको ३.७ प्रतिशत भन्दा उच्च हो। कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.२ प्रतिशत, उद्योग क्षेत्रको १२.८ प्रतिशत र सेवा क्षेत्रको ६२.० प्रतिशत रहने अनुमान गरिएको छ।

    समग्रमा, राष्ट्र बैंकको मूल्यांकन अनुसार, जेनजी आन्दोलनले छोटो अवधिको असर पारे पनि राजनीतिक स्थिरता, पुनर्निर्माण र आर्थिक सुधारका कदमहरूले दीर्घकालीन दृष्टिमा अर्थतन्त्र पुनः सुदृढ दिशातर्फ अघि बढ्न थालेको देखिन्छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar