ठूला जीवन बीमा कम्पनीहरूको नयाँ व्यापार ३ महिनामै २६.५५% ले बढ्यो, नेपाल लाइफ अग्रस्थानमा

  • कालिका खवर
  • बिहिबार, कार्तिक २०, २०८२
  • काठमाडौं । जीवन बीमा बजारमा प्रतिस्पर्धा तीव्र बन्दै गएका बेला, प्रमुख जीवन बीमा कम्पनीहरूले नयाँ व्यापारमा उल्लेखनीय वृद्धि गरेका छन्। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास सम्म आइपुग्दा बीमा कम्पनीहरूले कुल ९ अर्ब ५४ करोड ९ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेका छन्, जुन गत आवको सोही अवधिको तुलनामा २६.५५ प्रतिशत बढी हो।

    यो तथ्यांक नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको त्रैमासिक वित्तीय विवरणमा उल्लेख गरिएको हो। गत आवको सोही अवधिमा बीमा कम्पनीहरूले ७ अर्ब ५३ करोड ९५ लाख रुपैयाँ बराबरको नयाँ व्यावसायिक प्रिमियम संकलन गरेका थिए।

    नेपाल लाइफ अग्रस्थानमा, हिमालयन र सन नेपालको व्यवसाय घट्यो

    नयाँ व्यवसायमा नेपाल लाइफ इन्स्योरेन्सको वर्चश्व रहेको छ। तीन महिनामै कम्पनीले २ अर्ब ७० करोड ७९ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेको छ, जुन गत वर्षको तुलनामा ४२.४९ प्रतिशत वृद्धि हो।

    दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले पनि १८.७२ प्रतिशत वृद्धि गर्दै १ अर्ब ३१ करोड ६९ लाख रुपैयाँ बराबरको नयाँ व्यापार गरेको छ।

    यता, अधिकांश कम्पनीहरूले नयाँ व्यवसाय बढाएका बेला हिमालयन लाइफ र सन नेपाल लाइफ भने घटेको छ। हिमालयन लाइफको बीमा प्रिमियम ८.४३ प्रतिशत र सन नेपाल लाइफको ४.६९ प्रतिशत घटेको छ।

    बीमामा तीव्र वृद्धि गर्ने कम्पनीहरू

    • आइएमई लाइफ: ७०.६५% वृद्धि (४२ करोड ४७ लाख)

    • रिलायवल नेपाल लाइफ: ३८.२६% वृद्धि

    • सिटिजन लाइफ: ३४.३९% वृद्धि

    • एलआइसी नेपाल: ३१.५२% वृद्धि

    • एशियन लाइफ: २९.९८% वृद्धि

    • सानिमा रिलायन्स लाइफ: २७.८५% वृद्धि

    • राष्ट्रिय जीवन बीमा कम्पनी: २७.१८% वृद्धि

    • प्रभू महालक्ष्मी लाइफ: २२.५१% वृद्धि

    • मेटलाइफ नेपाल: १७.७२% वृद्धि

    • सूर्य ज्योति लाइफ: ५.०३% वृद्धि

    बीमा बजारमा देखिएको यो वृद्धि नयाँ ग्राहकहरू आकर्षित गर्ने र बीमाको पहुँच विस्तारप्रति कम्पनीहरूको पहललाई प्रस्ट्याउँछ। आर्थिक अस्थिरताबीच पनि जीवन बीमेलगानीप्रति आम जनताको विश्वसनीयता र आकर्षण दुवै बढ्दै गएको देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar