वर्तमान राजनीति र शेरबहादुर देउवा प्रतिको मेरो सम्मान

डा. अबुल हुसेन अन्सारी / भुवन भट्टराई
डा. अबुल हुसेन अन्सारी / भुवन भट्टराई
  • आइतवार, कार्तिक २, २०८२
  • नेतृत्वको अर्थ धेरैले बुझ्दैनन्। कसैले लोकप्रिय नारा देख्छ, कसैले भिडको चिच्याहट सुन्छ, कसैले सत्ता र शक्ति मात्र खोज्छ। तर नेतृत्वको वास्तविक मापदण्ड त्यतिबेला देखिन्छ जब परिस्थितिले कठोर बनाउँछ र तब पनि हृदय मानवता र विवेकले चल्छ कि चल्दैन। नेपालको लामो राजनीतिक यात्रामा थोरै व्यक्तिहरूले मात्र यो परीक्षा उत्तीर्ण गरेका छन्, तीमध्ये एक हुन् , शेरबहादुर देउवा।

    राजनीति समयसँगै बदलिन्छ, तर मूल्य र व्यवहारले नेता चिनिन्छ। आजको अस्थिर, आवेगपूर्ण र विभाजित राजनीतिक वातावरणमा जहाँ हरेक दिन कोही न कोही आरोप–प्रत्यारोपमा तानिन्छ, त्यहाँ देउवा संयम, धैर्यता र स्थायित्वका प्रतीक बनेर उभिएका छन्। उनले राजनीतिलाई बदला होइन, सेवाको माध्यम बनाए। सत्ताभन्दा देशलाई प्राथमिकता दिए। आलोचना सहँदा पनि उनले कहिल्यै व्यक्तिगत आक्रोशलाई नेतृत्वमा हावी हुन दिएनन्। नेपाल जस्तो संक्रमणकालीन लोकतन्त्रमा शान्त नेतृत्व ठूलो सम्पत्ति हो र देउवा त्यस सम्पत्तिका प्रतिनिधि हुन्। उनको अनुभवले हामीलाई सम्झाउँछ कि राजनीतिमा उत्तेजना होइन, स्थिरता नै राष्ट्रको आधार हो।

    आजको पुस्ताले असहमत भए पनि, इतिहासले सधैं सम्झनेछ , त्यो नेतालाई जसले विवाद होइन, विश्वासको राजनीतिलाई प्राथमिकता दियो। नेपालको राजनीतिक इतिहास अशान्त यात्राले भरिएको छ ,कहिले आन्दोलन, कहिले विभाजन, कहिले आरोप र गुटबन्दी। तर यी सबै परिस्थितिहरूमा पनि शेरबहादुर देउवा कहिले प्रधानमन्त्रीको कुर्सीमा, कहिले विपक्षीको भूमिकामा, कहिले आलोचनाको केन्द्रमा रहँदा पनि स्थिर, संयमी र जिम्मेवार देखिए। राजनीतिमा स्थायित्व चमत्कारले होइन, चरित्रले आउँछ , उनको जीवन त्यसको प्रमाण हो। धेरैले उनलाई ‘मन्द’ वा ‘कमजोर’ भने, तर समयको ठूलो कठघरीमा उनले बारम्बार प्रमाणित गरे, शान्त मानिसहरू कहिलेकाहीँ सबैभन्दा बलिया हुन्छन्। बोल्न सक्नेहरू धेरै छन्, तर मौन रहँदा पनि अर्थ दिन सक्नेहरू कम। देउवाको मौनता आलोचना बन्न सक्छ, तर त्यो मौनता जिम्मेवारीको प्रतीक हो। देश संकटमा हुँदा उनले उग्रता होइन, संयम रोजे। देश चलाउने कुरा लोकप्रियता होइन, परिपक्वता हो। उनको नेतृत्वले देखायो कि राजनीति केवल नारा र प्रदर्शन होइन, मन र मस्तिष्कको सन्तुलन हो। उनले कहिल्यै कसैलाई सार्वजनिक रूपमा अपमान गरेनन्, कहिल्यै प्रतिद्वन्द्वीलाई दुश्मन मानेनन्। यही सभ्यताले उनलाई अरूभन्दा फरक बनायो। देउवा जस्तो नेता बन्न सजिलो छैन। निरन्तर आलोचना सहँदै पनि प्रतिशोधको राजनीतिबाट टाढा रहनु , त्यो साहस हो। कहिले सत्ता गुमाए, कहिले साथिहरूले धोका दिए, तर उनले आफ्नो स्वभाव गुमाएनन्। अहिलेको राजनीतिमा आवेग र प्रदर्शन हावी छन्, तर देउवा अझै पनि मितभाषी, सरल र स्थिर छन्। नेतृत्व चिच्याएर होइन, सहँदै बनाइन्छ। प्रधानमन्त्रीको रूपमा उनले बारम्बार कठिन निर्णयहरू लिए — कहिले देश स्थिर राख्न, कहिले संक्रमण पार गर्न, कहिले सहमति कायम गर्न। ती निर्णयको मूल्य अहिले इतिहास बुझ्दैछ। उनका आलोचकहरू धेरै छन्, तर त्याग, नैतिकता र संयमको स्तर अहिलेका अधिकांश नेताभन्दा माथि छ। भ्रष्टाचार, दोहोरो नागरिकता, गुटबन्दी र सत्तालिप्साबाट घेरिएको राजनीतिमा देउवाको धैर्य र मौनता नै फरक चिनारी बनेको छ। देशलाई जोशभन्दा बढी संयम चाहिएको बेला, देउवाले त्यस संयमको उदाहरण दिएका छन्। उनको सादा जीवन, सरल व्यवहार र विनम्र बोलीले उनलाई स्थायी सन्तुलनको प्रतीक बनाएको छ। शान्त मानिसहरू इतिहासमा ढिलो चिनिन्छन्, तर लामो सम्झिन्छन्। नेतृत्व नाम होइन, जिम्मेवारी हो। देश कठिनाइमा हुँदा उनले कहिल्यै कदम पछाडि हटाएनन्। लोकतन्त्रलाई बचाउने, संविधानलाई संस्थागत गर्ने र राजनीतिक द्वन्द्वलाई संवादमा फर्काउने काममा उनको भूमिका ऐतिहासिक रह्यो। नयाँ पुस्ताका लागि उनको जीवन सन्देश हो , नेतृत्व छिटो बोल्न होइन, ढिलो बुझ्न हो। राजनीतिमा स्थायित्व वृद्धहरूको होइन, भविष्य खोज्ने युवाहरूको पनि आवश्यकता हो। यदि नयाँ पुस्ताले आवेगभन्दा संयम, घमण्डभन्दा इमानदारी रोज्न सिक्यो भने, देशले फेरि स्थिरता पाउनेछ। देउवाको राजनीतिक जीवनले सन्देश दिन्छ, देशलाई स्थिरता चाहिएको बेला मौन भएर पनि दिशा दिने नेतृत्व चाहिन्छ। जो चिच्याउँदैन, तर बुझिन्छ , त्यही साँचो नेता हो। संयम कमजोरी होइन, शक्ति हो। लोकप्रिय होइन, जिम्मेवार बन। सत्ताभन्दा पनि स्थायित्व रोज। आलोचनाको भीडमा पनि स्थिर रहनु नै नेतृत्व हो। राजनीतिमा सम्मान गुमाएर सत्ता खोज्ने होइन, आत्मा बचाएर राष्ट्र खोज्ने हो।

    राजनीति हावाको झोकाजस्तो हुन सक्छ, तर नेताको आत्मा चट्टानजस्तो अडिलो हुनुपर्छ। शेरबहादुर देउवा त्यही अडिलो आत्माको प्रतीक हुन्। उनले सत्ता गुमाउँदा पनि देशप्रेम गुमाएनन्, आलोचना सहँदा पनि संयम गुमाएनन्, अपमान भोग्दा पनि सौजन्य गुमाएनन्। शेरबहादुर देउवा कुनै परिपूर्ण व्यक्ति होइनन्, तर उनी परिपक्व नेता अवश्य हुन्। उनका कमजोरीहरू हुन सक्छन्, तर देशका लागि गरेको समर्पण, धैर्य र इमानदारी उनको वास्तविक सम्पत्ति हो। इतिहासले सधैं ठूलो परिवर्तन गर्नेहरूलाई होइन, सन्तुलन कायम राख्नेहरूलाई सम्झन्छ। शेरबहादुर देउवा त्यही सन्तुलनका प्रतीक हुन्  शान्त, स्थिर, जिम्मेवार र अविचल।

    लेखकको बारेमा

    डा. अबुल हुसेन अन्सारी / भुवन भट्टराई

    डा. अबुल हुसेन अन्सारी / भुवन भट्टराई

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar