वीरगञ्ज स्कुल आइडल सिजन–२ का प्रतिभा सम्मानित कला र संगीतले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छः वडाअध्यक्ष पराग

  • कालिका खवर
  • बिहिबार, अशोज ३०, २०८२
  • वीरगञ्ज, ३० असोज। कला र संगीतको सहरका रूपमा परिचित वीरगञ्जमा आयोजना गरिएको ‘वीरगञ्ज स्कुल आइडल सिजन–२’ का प्रतिभाशाली सहभागीहरूलाई विशेष सम्मान गरिएको छ।

    वीरगञ्ज महानगरपालिका–२० का वडाअध्यक्ष रामकिशोर सिंह परागको पहलमा आयोजित कार्यक्रममा प्रतियोगितामा सहभागी युवा–युवतीलाई प्रमाणपत्र र प्रोत्साहन स्वरूप सम्मान प्रदान गरिएको हो।

    कार्यक्रमलाई सम्बोधन गर्दै वडाअध्यक्ष परागले संगीत र कलाले समाजमा सकारात्मक ऊर्जा भर्ने र युवालाई कुलत तथा दुर्व्यसनबाट टाढा राख्ने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “कला र संगीतले केवल मनोरञ्जन मात्र होइन, समाजमा चेतना र परिवर्तन ल्याउने माध्यमका रूपमा पनि काम गर्छ। त्यसैले स्थानीय तहले यस्ता सिर्जनात्मक गतिविधिमा लगानी बढाउनुपर्छ।”

    कार्यक्रमका संयोजक सद्धाम हुसैनले ‘वीरगञ्ज स्कुल आइडल’ स्थानीय स्तरका प्रतिभालाई पहिचान, अवसर र प्रोत्साहन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार निकट भविष्यमा ‘वीरगञ्ज आइडल’ आयोजना गर्ने तयारी पनि तीव्र गतिमा भइरहेको छ।

    त्यसैगरी, नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय चौहानले वीरगञ्जलाई केवल व्यापारिक सहर नभई “कला र प्रतिभाको शहर”को रूपमा चिनाउने काम यस्ता कार्यक्रमले गरिरहेको बताउनुभयो। उहाँले युवामा रहेको सिर्जनात्मक क्षमतालाई उजागर गर्न यस्ता प्रतियोगिता निरन्तर सञ्चालन गर्न आवश्यक रहेको धारणा राख्नुभयो।

    कार्यक्रममा कलाकार अशोक प्रधानले यस्ता प्रतिस्पर्धा युवाको आत्मविश्वास वृद्धि र भविष्य निर्माणका लागि महत्वपूर्ण मञ्च भएको बताउँदै स्थानीय सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको सुझाव दिनुभयो।

    प्रतियोगिताका विजेता कोशीश लामाले ‘वीरगञ्ज स्कुल आइडल’ ले आफ्नो आत्मविश्वास बढाएको र गायन क्षेत्रमा भविष्य निर्माण गर्ने प्रेरणा दिएको बताउनुभयो। तेस्रो स्थान हासिल गरेकी प्रियान्शी आर्यले पनि निरन्तर अभ्यास र मेहनतका साथ गायन क्षेत्रमा आफूलाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

    कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सूर्य शुभचिन्तकले गर्नुभएको थियो।

    यसरी सम्पन्न ‘वीरगञ्ज स्कुल आइडल सिजन–२’ ले वीरगञ्जका युवा प्रतिभालाई उजागर गर्दै स्थानीय स्तरमा कला र संगीतको महत्वलाई अझ प्रबल बनाएको सहभागीहरूको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar