मूल्य बढेपछि बजारमा देखिन थाल्यो सुनको अभाव

  • कालिका खवर
  • बिहिबार, अशोज २३, २०८२
  • काठमाडौँ । मूल्य दिनप्रतिदिन आकासिँदै गर्दा बजारमा सुनको अभाव देखिन थालेको छ । मूल्य बढ्ने आशाले बजारमा माग बढ्न थालेपछि सुनको अभाव सुरु भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष मणिकत्न शाक्यका अनुसार अहिले बजारमा सुन र चाँदी दुवैको अभाव छ । माग बढेको र आयातको परिमाणमा कोटा निर्धारण गरिएका कारण अभावको अवस्था सिर्जना भएको उनको भनाइ छ । ‘अहिले दैनिक २० किलो भन्दा सुन ल्याउन पाइँदैन, तर बजारमा माग धेरै छ । मूल्य बढेपछि सुन बेच्नेको सङ्ख्या पनि घट्यो,’ शाक्य भन्छन्, ‘अहिले अभावको अवस्था देखिन्छ ।’

    सुनको मूल्य दिन प्रतिदिन बढ्दै जाँदा लगानी प्रयोजनकै लागि सुनको माग हुने क्रम बढेको छ । विवाहको सिजन सुरु हुँदै गर्दा त्यसका लागि समेत अहिल्यै सुन किन्न थालेको देखिन्छ । त्यसो त मूल्य बढ्न थालेपछि व्यवसायीले समेत सुनको होल्ड गर्न थालेको बताइन्छ । अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ४ हजार डलर प्रतिऔंस नाघिसकेको छ । विश्वभरको राजनीति तरल बन्दै जाँदा सुरक्षित लगानीको साधन मानिने सुनमा लगानी बढेको हो । सोही कारण अन्तर्राष्ट्रिय बजारमा समेत यसको भाउ बढ्दै गएको छ । पूर्वअध्यक्ष शाक्य यो अवस्थामा मूल्य कहाँ पुग्छ भन्न सक्ने अवस्था नै नरहेको बताउँछन् ।

    ‘सुनमा ४ हजारको टार्गेट थियो, त्यो पूरा भयो, अब कहाँसम्म पुग्ने हो थाहा छैन,’ उनी भन्छन्, ‘राजनीतिक परिदृश्यमा सुधार आएमा मूल्य घट्न पनि सक्छ ।’ नेपालमा जेनजी आन्दोलन चल्दै गर्दा विश्वका विभिन्न देशमा समेत सरकारविरुद्ध प्रदर्शन चलिरहेको छ । फ्रान्समा मङ्गलवार मात्रै नवनिर्वाचित राष्ट्रपतिले राजीनामा दिएको अवस्था छ । त्यसो त इजरायल र गाजा, युक्रेन रुस युद्ध लगायतको कारणले पनि सुनको भाउ आकासिँदै गएको थियो । अहिले यी युद्ध रोक्ने प्रयास भएको छ । यी प्रयासले सार्थकता पाएमा मूल्य घट्न सक्ने विश्लेषण गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar