सरकारले राम्रो मनसायले सरुवा गरेको भए सहयोग गर्छु, अदालत जानेबारे केही सोचेको छैन : हितेन्द्रदेव शाक्य

  • कालिका खवर
  • सोमवार, अशोज ६, २०८२
  • काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले हटाएसँगै कसरी अघि बढ्ने विषयमा परामर्श गरिरहेको बताएका छन् । शाक्यलाई आइतबार मन्त्रिपरिषद्ले प्राधिकरणको प्रमुखबाट हटाएर जल तथा ऊर्जा आयोगमा सरुवा गरेको थियो । शाक्यले वर्तमान सरकारलाई सहयोग गरेर अघि बढ्ने आफ्नो योजना भए पनि आयोगमा सरुवा गरेको बताए ।

    उनले सरकारले राम्रो मनसाय बनाएर आयोगमा सरुवा गरेको भए आयोगमा बसेर पनि वर्तमान सरकारलाई सहयोग गर्ने बताए। आफू सहयोग गर्ने पक्षमा रहे पनि सरकारले बिनाकारण सरुवा गरिएको गुनासो उनको छ । शाक्यले संक्षिप्त कुरा गर्दै सरकारले कसरी ‘ट्रिट’ गर्छ त्यही अनुसार  अघि बढ्ने योजना रहेको समेत बताए । उनले भने– ‘मेरो विशेषज्ञता सरकारले चाहेको हो भने छुट्टै कुरा हो । म त्यही अनुसार सरकारलाई आयोगमा बसेर सहयोग गर्छु ।

    तर, प्रतिसोध साँधेको हो भने त्यही अनुसार अघि बढ्छु । म सरकारलाई सहयोग गर्ने पक्षमा नै थिएँ । तर, काम गर्ने अवसर समेत नदिई हटाइयो ।’ शाक्यले आफू प्राधिकरणमा दुई पटक नियुक्ति भएको  तर दुवै पटक काम गर्ने अवसर नपाएको गुनासो गरे । कानुनी लडाइँमा जाने केही सोच बनाउनुभएको छ भन्ने जिज्ञासामा उनले अहिले कानुनी लडाइँमा जाने कुनै योजना नभएको समेत बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar