निर्वाचन प्रणालीले होइन नेताको कार्यशैलीले अस्थिरता ल्याएको : मन्त्री गुरुङ

  • कालिका खवर
  • शनिबार, भदौ १४, २०८२
  • काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक अस्थिरताको कारण निर्वाचन प्रणाली नभई दलका नेताहरुको कार्यशैली भएको बताउनुभएको छ।

    शुक्रबार राजधानीमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आयोजना गरेको नौ वटा पुस्तक विमोचन समारोहमा मन्त्री गुरुङले भन्नुभयो,
    “समावेशी निर्वाचन प्रणाली अस्थिरताको कारण होइन, नेताहरुको सत्ता–केन्द्रित आचरणले समस्या सिर्जना गरेको हो। समावेशी प्रणाली हटाइयो भने संविधानको मूल मर्म नै मर्छ।”

    उहाँले पछिल्लो समय समावेशी र समानुपातिक प्रणालीलाई नेताहरुले नै कमजोर बनाउन खोजेको भन्दै यसको बचाउमा सबै समुदाय एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

    सो अवसरमा प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले प्रतिष्ठानलाई कमजोर बनाउने वा हटाउनुपर्ने धारणा स्वयं राज्यका नेतृत्वकर्ताबाट आउनु आदिवासी जनजातिप्रति असंवेदनशीलता भएको टिप्पणी गर्नुभयो।

    त्यस्तै, प्रा.डा. कृष्ण हाछेथुं, प्रा.डा. योगेन्द्र गुरुङ, र डा. जनक राईलगायतले प्रकाशित पुस्तकको समीक्षा गर्दै प्रतिष्ठान आदिवासी ज्ञान उत्पादन गर्ने महत्त्वपूर्ण संस्था भएकाले यसको आवश्यकता अझ बढेको विचार राख्नुभयो।

    कार्यक्रममा नेपालका आदिवासी जनजाति ज्ञानकोष भाग–१, नेपाल एटलस, गुरुङ, थारु, मगर, मुगा, र फाङ्दुवाली भाषासम्बन्धी विभिन्न पुस्तकसहित नौ वटा कृति विमोचन गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar