पढाइसँगै कमाई : इम्बार्क कलेजले ल्यायो नयाँ वर्क–स्टडी पहल

  • कालिका खवर
  • बिहिबार, भदौ १२, २०८२
  • काठमाडौं । व्यवसायिक शिक्षा र रोजगारीबीचको खाडललाई हटाउँदै इम्बार्क कलेजले दुईवटा नयाँ कार्यक्रम सार्वजनिक गरेको छ – “व्यावहारिक सीप तालिम (अप्रेन्टिससिप) कार्यक्रम” र “स्टार्टअप क्षमता विकास कार्यक्रम”। यी दुवै पहल नेपालका विद्यार्थी र युवा उद्यमीलाई रोजगारी तथा उद्यमशीलताको क्षेत्रमा सक्षम बनाउन लक्षित छन्।

    इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सिइओ आशिष ठाकुरका अनुसार, स्नातकहरूलाई शैक्षिक जीवनपछि करियरमा प्रवेश गर्दा देखिने अनिश्चितता अब हट्नेछ। उनले भने, “हामीले व्यावसायिक शिक्षालाई प्रत्यक्ष उद्योगसँग जोडेर करियर–रेडी शिक्षाको नयाँ मापदण्ड स्थापना गरेका छौं।”

    अप्रेन्टिससिप कार्यक्रममार्फत विद्यार्थीहरूले उद्योगसँग प्रत्यक्ष जोडिएर संरचित तालिम, व्यावसायिक परामर्श र नियमित मूल्याङ्कन प्राप्त गर्नेछन्। यसले उद्योगलाई दक्ष जनशक्ति उपलब्ध गराउने र विद्यार्थीलाई सुनिश्चित रोजगारीको बाटो खोल्ने विश्वास कलेजले व्यक्त गरेको छ।

    यस्तै, स्टार्टअप क्षमता विकास कार्यक्रमले कानुनी रूपमा दर्ता भई १० वर्षभन्दा कम समय सञ्चालन भएका र वार्षिक कारोबार १५ करोडभन्दा कम भएका व्यवसायहरूलाई लक्षित गर्नेछ। यो कार्यक्रम राष्ट्रिय स्टार्टअप नीति २०८० र औद्योगिक उद्यम ऐन २०७६ सँग मेल खाने गरी सञ्चालन हुनेछ। सीईओ ठाकुरका अनुसार, कार्यक्रमले उद्यमशीलताको सम्भावनालाई दीगो व्यवसायमा रूपान्तरण गर्न सहयोग पुर्‍याउनेछ।

    कलेजले आवेदन प्रक्रियासमेत सार्वजनिक गरेको छ। अप्रेन्टिससिपका लागि सीप मूल्याङ्कन, प्रमाणीकृत शैक्षिक कागजात र अन्तर्वार्ता आवश्यक हुनेछन् भने स्टार्टअप कार्यक्रमका लागि कानुनी दर्ता प्रमाणपत्र, व्यवसाय योजना र वित्तीय विवरण अनिवार्य हुनेछ।

    ललितपुर, पुल्चोकस्थित इम्बार्क कलेजले यसअघि नै BSc. Business Management, MBA र ACCA जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। कलेजले नेपालमा आर्थिक विकास र नवप्रवर्तनलाई अघि बढाउने व्यवसायिक नेतृत्व उत्पादन गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar