भक्तपुरको सिर्जनानगरको माताको ठगी धन्दा: अन्धविश्वासको नाममा सर्वसाधारणको शोषण

  • कालिका खवर
  • मङ्लबार, फाल्गुन ६, २०८१
  • अनुसा थापा, भक्तपुर । भक्तपुरको सिर्जनानगर चोकमा दरबारजस्तो देखिने एउटा विशाल भवन छ। यो भवन देख्दा धेरैलाई कौतूहल लाग्न सक्छ—”यो कसको हो?” कतिपयले सोच्न सक्छन् कि कुनै धनी व्यापारीको निवास होला। तर वास्तविकता त्यस्तो छैन। यो भवन एक कथित “माता” को हो, जसले भगवानको नाममा ठगी धन्दा चलाइरहेकी छिन्।

    माताको नाममा ठगी
    स्थानीयका अनुसार ती माताको मुख्य काम नै भक्तजनलाई ठग्नु हो। उनले सिर्जनानगर मात्र नभई अन्य धेरै ठाउँमा पनि ठूलो जग्गा जमिन जोडेकी छिन्। उनले भक्तजनको आस्थाको फाइदा उठाएर उनीहरूको सम्पत्ति आफैंको बनाउने गरेकी छिन्। उनका बारेमा बुझ्दा थाहा हुन्छ कि उनको घर सूर्यविनायक नगरपालिका-५, सुशिल भैरवस्थानअगाडि पर्छ भने उनको माइत गुण्डुको किवाचोक हो।

    ठगीबाट दरबारसम्मको यात्रा
    ती महिला कुनै समय आर्थिक रूपमा विपन्न थिइन्। स्थानीयका अनुसार करिब तीन दशकअघि उनले एउटा सानो होटल चलाउँथिन् भने उनका श्रीमान् साइकलको टायर टाल्ने काम गर्थे। सामान्य जीवन बिताइरहेकी ती महिलाले एकाएक “माता” को ढोंग रचेर धेरै सम्पत्ति जोडेकी छिन्।

    आज उनीसँग दरबारजस्तो ठूला-ठूला महल छन्। प्रश्न उठ्छ—एक सामान्य महिलाले यत्रो सम्पत्ति कसरी जोडिन्? उत्तर छ—भक्तजनको अन्धविश्वास। शिक्षित भनिने व्यक्तिहरूसमेत शनिबार र बुधबार माताको दर्शन गर्न त्यहाँ पुग्छन्, हरियो टीका लगाएर नाचगान गर्छन्।

    शिक्षित समाजको वास्तविकता
    धेरैले भन्छन्, “हाम्रो समाज शिक्षित भइसकेको छ।” तर, यस्तो घटनाले के देखाउँछ? अक्षर चिन्दैमा शिक्षित हुँदैन भन्ने यसको ठोस प्रमाण हो। शिक्षित भनिएकाहरू पनि आफ्नो मेहनतले कमाएको पैसा ती माताको खल्तीमा हालिरहेका छन्। पैसा मात्र होइन, फलफूलसमेत चढाउँछन्। तिनै फलफूल आफैंले खाएको भए पो शरीरमा शक्ति आउँथ्यो, मातालाई चढाएर के पाइन्छ?

    हरेक साताको दुई दिन हजारौं सर्वसाधारण माताको दर्शन गर्न जान्छन्। त्यो समय कुनै सामाजिक कार्यमा लगाएको भए समाजका लागि केही योगदान हुने थियो। तर, माताको आस्थामा परेर आफ्नो धन, समय र श्रम खेर फालिरहेका छन्।

    सरकारको उदासीनता
    यस्तो ठगी खुलेआम भइरहँदा सरकार के गर्दैछ? धर्मको नाममा पर्दाभित्र लुकेर ठग्नेहरूमाथि सरकारले किन कुनै कारबाही नगरेको? सरकार टुलुटुलु हेरेर बस्दा यस्ता ठगी धन्दाहरू झन् मौलाउँदै गएका छन्।

    यस्ता माताहरूले आफूलाई उपचार गर्न सक्ने बताउँछन्। तर, के उनीहरूसँग चिकित्सा आयोगबाट मान्यता प्राप्त कुनै लाइसेन्स छ? सरकार अस्पताल खोल्छ, चिकित्सक उत्पादन गर्छ, तर सर्वसाधारण अन्धविश्वासकै पछि लागेर झाँक्री, माताजस्ता ढोंगीहरूको पछि दौडिरहेका छन्।

    ठगी धन्दालाई अन्त्य गर्ने बेला
    सिर्जनानगरको यो घटना मात्र एउटा उदाहरण हो। यस्ता कथित माताहरू देशभरि फैलिएका छन्। ठगी गर्न डेरा भाडामा लिने, केही दिनमा ठूलो भीड जम्मा गर्ने, अनि धर्मको नाममा सर्वसाधारणलाई ठग्ने प्रवृत्ति बढ्दै गएको छ।

    यो समस्या समाधान गर्न सरकारले तत्काल एक्सन लिनुपर्ने आवश्यकता छ। ठगी धन्दा सञ्चालन गरिरहेका यस्ता व्यक्तिहरूलाई कानुनी कारबाही गर्न ढिला गर्नु हुँदैन।

    रामबहादुर बम्जनको उदाहरण नै लिऊँ। उनले लिटिल बुद्धको नाममा लाखौं सर्वसाधारणलाई ठगे। उनका घरमा छापा मार्दा ठूलो परिमाणमा नगद बरामद भयो। यस्ता घटनाले के देखाउँछ? धर्मको आडमा ठग्न चाहनेहरूलाई सरकारले समयमै कारबाही नगर्ने हो भने सर्वसाधारण अझै लुटिँदै जानेछन्।

    यस्ता ठगहरूबाट समाजलाई जोगाउन सरकार गम्भीर हुनैपर्छ। माताका नाममा ठगी गर्नेहरूको सम्पत्ति राष्ट्रियकरण गरिनुपर्छ। यस्ता व्यक्ति समाजका लागि अभिशाप हुन्, जसले लाखौं सर्वसाधारणलाई अन्धविश्वासको जञ्जालमा फसाइरहेका छन्।

    अब पनि सरकार चुप बस्ने हो भने, भोलि यो समस्या झन् विकराल रूप लिन सक्छ। अब जनताले पनि यस्ता ठगी धन्दाबाट टाढा रहन सिक्नुपर्छ। अन्धविश्वासले होइन, वैज्ञानिक सोचले मात्र समाजलाई उन्नत बनाउन सकिन्छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar