युवा नेतृत्व र परिवर्तनको सन्देशसहित पर्सा–२ मा सुशील कुमार कानु

  • कालिका खवर
  • शनिबार, माघ १०, २०८२
  • वीरगंज —  २०७४ सालको स्थानीय तह निर्वाचनमा पहिलो पटक चुनावी मैदानमा उत्रिएका सुशीलकुमार कानुले सुरुवातमा असफलताको सामना गर्नुपरेको थियो। वीरगञ्ज महानगरपालिका वडा नम्बर–१० को वडाध्यक्ष पदमा कांग्रेसका रामनगिना प्रसाद कानु १ हजार ३३९ मतका साथ विजयी हुँदा तत्कालीन संघीय समाजवादी फोरमका उम्मेदवार कानु १ हजार १२३ मत प्राप्त गर्दै उपविजेतामा सीमित भएका थिए।

    तर सोही निर्वाचनपछि सम्पन्न वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा भने २७ वर्षीय कानुले सफलता हात पार्दै कार्यपालिका सदस्यमा निर्वाचित हुन सफल भए। त्यसयता उनी सहभागी भएका कुनै पनि निर्वाचनमा पराजित भएका छैनन्।

    २०७९ सालको स्थानीय तह निर्वाचनमा कानु पुनः वीरगञ्ज महानगरपालिका वडा नम्बर–१० को वडाध्यक्ष पदमा उम्मेदवार बने। २०७४ मा झिनो १ सय २० मतान्तरले पराजय व्यहोरेका कांग्रेसका रामनगिना प्रसाद कानुलाई यसपटक ४ सय ७३ मतान्तरले पराजित गर्दै जसपाका उम्मेदवार कानु वडाध्यक्षमा निर्वाचित भएका थिए। पाँच वर्षे कार्यकालको तेस्रो वर्ष चलिरहेकै बेला संघीय संसद्‌मा जाने लक्ष्यसहित उनले वडाध्यक्ष पदबाट राजीनामा दिए।

    संघीय सांसद बन्ने चाहनासँगै कानुले मधेस केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) पनि छाडे र आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गराउँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोजे। रास्वपाबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उनले हाल चुनावी प्रचार अभियान तीव्र बनाएका छन्।

    ६ माघमा उम्मेदवारी दर्ता गरेकै दिन सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानुले आफू उमेरले युवा भए पनि राजनीतिक चेतना र चिन्तनमा प्रतिस्पर्धीभन्दा कमजोर नरहेको दाबी गरे। “२०६२/६३ को जनआन्दोलनमा नेता नभए पनि कार्यकर्ताको हैसियतमा सक्रिय थिएँ। त्यसपछिका मधेस आन्दोलन, २०७४ र २०७९ का स्थानीय निर्वाचन तथा हालैका जेन–जी आन्दोलनका मुद्दामा पनि म उभिएको छु,” उनले भने।

    ३५ वर्षीय कानु आफूमा राजनीतिक चेतना विकसित भएदेखि नै परिवर्तनको पक्षमा उभिँदै आएको बताउँछन्। “एउटै नेतालाई पटक–पटक जिताउँदा पनि आमूल परिवर्तन आएन। सुशासन र परिवर्तनको आवाज उठाउँदा युवाले गोली खानुपर्ने अवस्था किन आयो ? यी प्रश्नको जवाफ पुराना नेताहरूले दिन सकेका छैनन्,” उनले टिप्पणी गरे।

    नेपालको इतिहासमै पहिलो पटक मधेसी समुदायको छोरालाई प्रधानमन्त्रीको रूपमा अघि सारिएको दल भएकाले रास्वपा रोजेको कानुको तर्क छ। “मधेस मात्र होइन, देशभर ‘अबकी बार, बालेन सरकार’ भन्ने नारा गुञ्जिरहेको छ। अबको निर्वाचनपछि रास्वपाले एकल बहुमत ल्याएर मधेसीको छोरा प्रधानमन्त्री बन्नेछ,” उनले दाबी गरे।

    अग्रज नेताहरूको योगदानलाई सम्मान गर्दै युवा नेतृत्वमार्फत मात्र मुलुकको समृद्धि सम्भव हुने विश्वासका साथ रास्वपाले अधिकांश स्थानमा युवा र नयाँ अनुहारलाई उम्मेदवार बनाएको कानुको भनाइ छ। यही कारण पर्सा–२ सहित देशभर रास्वपाको पक्षमा जनलहर बढ्दै गएको र यसको प्रभाव फागुन २१ गतेको निर्वाचन परिणाममा स्पष्ट देखिने उनले दाबी गरे।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar