गौरीशंकर सुपर लिगमा काठमाडौं , ग्रेट हिमालय , नेक्सस एकेडेमीको जित

  • कालिका खवर
  • सोमवार, चैत्र ३०, २०८२
  • गौरीशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा काठमाडौं जिल्ला यू–१७ ले प्रभावशाली प्रदर्शन गर्दै रेडियन्ट क्रिकेट एकेडेमी यू–१७ लाई ५८ रनले पराजित गरेको छ।

    पहिले ब्याटिङ गरेको काठमाडौं जिल्ला यू–१७ ले १५ ओभरमा ८ विकेट गुमाउँदै १०९ रन बनायो। करण यादवले २२ रन, बिशाल बुढाले २० रन तथा शुभा रेग्मीले १५ रन बनाए। सौर्य सिंह ठाकुरी १२ रनमा अविजित रहे। अतिरिक्तबाट २७ रन आउनु पनि टोलीका लागि महत्वपूर्ण बन्यो।

    बलिङतर्फ रेडियन्टका मुन्ना जयसवालले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। मोहम्मद आमिरले २ विकेट लिए भने पारख रसाइली र राजन कुमारले समान १–१ विकेट हात पारे। ११० रनको लक्ष्य पछ्याएको रेडियन्ट क्रिकेट एकेडेमी यू–१७ भने काठमाडौंका बलर सामु टिक्न सकेन।

    टोली १३.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ५१ रनमा समेटियो। मोहम्मद आमिरले १३ रन र अंकित कुमारले १४ रन बनाए पनि अन्य ब्याट्सम्यानले योगदान दिन सकेनन्। काठमाडौंका बलरहरू पूर्ण रूपमा हावी देखिए। पारख रसाइली र दिवास क्षेत्रीले महत्वपूर्ण विकेट लिँदै सुरुवाती झट्का दिए। सौर्य सिंह ठाकुरीले २ विकेट लिए भने स्योन स्वानिक र अन्य बलरहरूले पनि दबाब कायम राख्दै विपक्षीलाई सस्तैमा समेटे।

    त्यसैगरी गौरीशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमी यू–१७ ले उत्कृष्ट प्रदर्शन गर्दै जोरपाटी क्रिकेट एकेडेमी यू–१७ लाई ८६ रनले पराजित गरेको छ। पहिले ब्याटिङ गरेको ग्रेट हिमालयले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै १४६ रनको बलियो योगफल तयार गर्यो। टोलीका लागि सुप्रिम सुनारले आक्रामक ब्याटिङ गर्दै ४१ रन बनाए भने स्पर्श तामाङले ३१ रनको योगदान दिए।

    अनिकेत गजुरेलले २६ रन थप्दा अवि थपलिया १३ रनमा आउट भए। अन्त्यतिर माहि यादव १३ रनमा अविजित रहँदा टोली ठूलो स्कोर बनाउन सफल भयो। बलिङतर्फ जोरपाटीका सागर र सोहितले समान २–२ विकेट लिए भने आर्यबत गौतमले १ विकेट हात पारे। १४७ रनको लक्ष्य पछ्याएको जोरपाटी क्रिकेट एकेडेमी भने दबाबमा पर्दै १४.२ ओभरमा सबै विकेट गुमाएर ६० रनमै समेटियो।

    आरोन जंग गिरीले २१ रन र निमेश योञ्जनले १५ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन्। ग्रेट हिमालयका बलरहरू खेलभर हावी देखिए। सागर बी र कमल शाहिले उत्कृष्ट बलिङ गर्दै समान ३–३ विकेट लिए। सोहित डीले २ विकेट हात पार्दा प्रशान्त सी र सुधिर एमले पनि महत्वपूर्ण विकेट लिएर विपक्षीलाई धराशायी बनाए।

    त्यसैगरी आजै भएको तेस्रो खेलमा नेक्सस क्रिकेट एकेडेमी यू–१७ ले भक्तपुर क्रिकेट सेन्टर यू–१७ माथि ७ विकेटको सहज जित दर्ता गरेको छ। पहिले ब्याटिङ गरेको भक्तपुर क्रिकेट सेन्टर यू–१७ कमजोर प्रदर्शन गर्दै ९.५ ओभरमै अलआउट हुँदै मात्र ५४ रनमा समेटियो।

    श्रेराज बिर श्रेष्ठले सर्वाधिक १९ रन बनाए भने सदीप कार्कीले ११ रन जोडे। अन्य ब्याट्सम्यानहरू भने दोहोरो अंकमा पुग्न सकेनन्। नेक्ससका बलरहरू निकै घातक सावित भए। सिमोन पन्ताले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए भने लोकेन्द्र कार्कीले ३ विकेट हात पारे।

    आर्यन विक्रम कार्कीले २ विकेट लिँदा अन्य बलरहरूले पनि दबाब कायम राखे। ५५ रनको सामान्य लक्ष्य पछ्याएको नेक्सस क्रिकेट एकेडेमी यू–१७ ले ९.५ ओभरमै ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। सरजिल अली मन्सारी १७ रनमा अविजित रहे भने आरव श्रेष्ठले १३ रन बनाए। लोकेन्द्र कार्कीले अन्त्यतिर ९ रन जोड्दै टोलीलाई जित दिलाए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar