विपद् प्रभावित होटल तथा पर्यटन व्यवसायको पुनरुत्थानका लागि होटल व्यवसायी महासंघको ११ बुँदे माग

  • कालिका खवर
  • बुधबार, भदौ १७, २०८३
  • काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित होटल तथा रेस्टुरेन्ट व्यवसायको तत्काल राहत, पुनर्स्थापना, पुनरुत्थान तथा पर्यटन प्रवर्द्धनका लागि होटल व्यवसायी महासंघ, नेपाल (एचपीएफएन) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ११ बुँदे ज्ञापनपत्र बुझाएको छ।

    महासंघका अध्यक्ष टी. आर. भण्डारीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई प्रत्यक्ष भेट गरी प्रभावित क्षेत्रका व्यवसायीहरूको वास्तविक अवस्था, उनीहरूले भोगिरहेको आर्थिक तथा भौतिक संकट तथा राज्यबाट आवश्यक तत्कालीन सहयोगका विषयमा ध्यानाकर्षण गराएको हो।

    प्रतिनिधिमण्डलमा महासंघका केन्द्रीय तथा बागमती प्रदेशका प्रतिनिधि, सम्बन्धित क्षेत्रका होटल व्यवसायी तथा प्रत्यक्ष रूपमा प्रभावित पीडित परिवारका प्रतिनिधिसमेत सहभागी थिए। महासंघले प्रभावित क्षेत्रको अवस्था कागजी विवरणमा मात्र सीमित नराखी स्थलगत अनुभव र पीडितहरूको प्रत्यक्ष आवाजसहित सरकारसमक्ष प्रस्तुत गरिएको जनाएको छ।

    ज्ञापनपत्रमा रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत प्रभावित क्षेत्रमा होटल तथा रेस्टुरेन्टका भवन, संरचना, फर्निचर, भान्साका उपकरण, विद्युतीय सामग्री, मेसिनरी, खाद्यान्न तथा अन्य व्यावसायिक सामग्रीमा भएको क्षतिलाई समेटिएको छ। कतिपय व्यवसायीहरूको घरजग्गा तथा निजी सम्पत्तिसमेत गम्भीर रूपमा क्षतिग्रस्त भएको महासंघले जनाएको छ।

    व्यवसाय सञ्चालन ठप्प भएको अवस्थामा पनि बैंकको सावाँ–ब्याज, घरभाडा, कर्मचारी खर्च, कर तथा अन्य वित्तीय दायित्व कायम रहँदा प्रभावित व्यवसायीहरू थप गम्भीर आर्थिक संकटमा परेको महासंघको भनाइ छ। कतिपय व्यवसायी व्यवसाय बन्द गर्नुपर्ने तथा विस्थापित हुनुपर्ने अवस्थामा पुगेकाले अबको आवश्यकता केवल तत्कालीन राहत नभई व्यवसायलाई पुनः उभ्याउने र स्थानीय पर्यटन अर्थतन्त्रलाई पुनर्जीवित गर्ने विशेष कार्यक्रम रहेको महासंघले जनाएको छ।

    ११ बुँदे ज्ञापनपत्रमा के–के छन् माग?

    महासंघले प्रभावित व्यवसायको विस्तृत क्षति मूल्याङ्कन तथा आधिकारिक अभिलेख निर्माण गर्न माग गरेको छ। त्यस्तै सहुलियतपूर्ण पुनर्कर्जा, ब्याजमा विशेष अनुदान, बैंक ऋणको पुनर्तालिकीकरण तथा पुनर्संरचना, पूर्ण क्षति भएका व्यवसायीका लागि विशेष ऋण राहत, रोजगारी पुनर्स्थापना तथा विस्थापित व्यवसायीका लागि सुरक्षित स्थानमा दीर्घकालीन लिजको व्यवस्था गर्नुपर्ने माग गरिएको छ।

    ज्ञापनपत्रमा बीमा दाबीको फास्ट–ट्र्याक व्यवस्था, कर तथा नवीकरण शुल्कमा छुटलगायतका विषय पनि समेटिएका छन्। प्रभावित क्षेत्रका होटल तथा पर्यटन व्यवसायलाई ‘रिकभरी, रिह्याबिलिटेसन एन्ड रिस्टार्ट’ अवधारणाअनुसार पुनः सञ्चालनमा ल्याउन स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य विशेष कार्यक्रम आवश्यक रहेको महासंघले जनाएको छ।

    महासंघले रसुवाको गोसाइँकुण्ड, लाङटाङलगायत प्राकृतिक, धार्मिक तथा साहसिक पर्यटन क्षेत्र, चीनसँग जोडिएको अन्तर्राष्ट्रिय नाका तथा भविष्यमा विकसित हुन सक्ने कैलाश–मानसरोवर पर्यटन सम्भावनालाई दृष्टिगत गर्दै ‘रसुवा पर्यटन पुनरुत्थान तथा प्रवर्द्धन विशेष कार्यक्रम’ सञ्चालन गर्न समेत माग गरेको छ।

    पर्यटनसँग जोडियो मित्रराष्ट्रसँगको सम्बन्ध

    महासंघले रसुवाको भौगोलिक तथा रणनीतिक महत्त्वलाई दृष्टिगत गर्दै मित्रराष्ट्रसँगको सम्बन्ध र नेपालको परराष्ट्र नीतिलाई पर्यटन प्रवर्द्धनसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएको छ।

    परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, प्रदेश तथा स्थानीय सरकार र निजी क्षेत्रबीच समन्वय गरी सीमा क्षेत्रको पूर्वाधार विकास, पर्यटकीय आवागमन सहजीकरण, द्विपक्षीय पर्यटन सहकार्य तथा गन्तव्यको संयुक्त प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्नुपर्ने महासंघको धारणा छ।

    यसबाट रसुवालगायत उत्तरी सीमावर्ती क्षेत्रको पर्यटन व्यवसायलाई छोटो समयमै पुनरुत्थान गर्दै तीव्र आर्थिक वृद्धितर्फ लैजान सकिने महासंघले जनाएको छ।

    महासंघले पर्यटन मन्त्रालयको नेतृत्वमा पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, प्रदेश तथा स्थानीय सरकार र निजी क्षेत्रको सहभागितामा ‘टुरिजम रिकभरी टास्क फोर्स’ गठन गरी स्पष्ट कार्ययोजना, जिम्मेवारी, स्रोत व्यवस्थापन तथा समयसीमा निर्धारण गर्न समेत माग गरेको छ।

    संकटमा व्यवसायसँगै सामाजिक उत्तरदायित्व

    होटल व्यवसायी महासंघ, नेपालले आफ्ना सदस्य व्यवसायीहरूको व्यावसायिक हकहितका साथै राष्ट्रिय संकट, प्राकृतिक विपत्ति तथा मानवीय कठिनाइका समयमा सामाजिक उत्तरदायित्वलाई पनि संस्थागत भूमिकाको अभिन्न अंगका रूपमा अघि बढाउँदै आएको जनाएको छ।

    कोभिड–१९ महामारीका समयमा होटल व्यवसायीहरूले आफ्ना होटललाई क्वारेन्टाइन तथा आइसोलेसन प्रयोजनका लागि उपलब्ध गराएर राज्यको संकट व्यवस्थापनमा सहयोग गरेका थिए।

    त्यसैगरी विभिन्न दुर्घटना तथा मानवीय संकटका समयमा महासंघसँग आबद्ध होटल व्यवसायी संस्थाहरूले खाना, बसोबास तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउँदै आएका छन्।

    चितवनमा भएको ठूलो सवारी दुर्घटनापछि मृतकका शव तथा पहिचान र व्यवस्थापनका लागि चितवन पुगेका आफन्तजन तथा सम्बन्धित व्यक्तिहरूलाई होटल व्यवसायी संघ चितवनसँग आबद्ध व्यवसायीहरूले निःशुल्क खाना तथा बसोबासको व्यवस्था गरी मानवीय सहयोग गरेको महासंघले जनाएको छ।

    हाल रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवार, व्यवसायी तथा समुदायका लागि पनि महासंघले आफ्नो संस्थागत संयन्त्रमार्फत सहयोग, समन्वय र आवश्यकताको पहिचानलाई निरन्तरता दिइरहेको जनाएको छ।

    विदेशी पर्यटकलाई समेत निःशुल्क सहयोग गर्न तयार

    प्राकृतिक प्रकोपका कारण कुनै विदेशी पर्यटक प्रभावित हुने, बाटोमा अलपत्र पर्ने वा तत्काल सुरक्षित बसोबास तथा खानाको आवश्यकता पर्ने अवस्था सिर्जना भएमा नेपाल सरकारका सम्बन्धित निकायले आवश्यक ठानेमा काठमाडौंमा रहेका आफ्ना आबद्ध होटल तथा व्यवसायी संस्थामार्फत मानवीय आधारमा आवश्यक खाना तथा बसोबासको सुविधा उपलब्ध गराउन तयार रहेको महासंघले जनाएको छ।

    महासंघका अनुसार नेपालमा आउने प्रत्येक पर्यटक पर्यटन उद्योगको मात्र नभई नेपालको आतिथ्य, संस्कृति र मानवीय व्यवहारका अतिथि हुन्। संकटको अवस्थामा स्वदेशी नागरिकसँगै विदेशी पर्यटकलाई समेत आवश्यक सहयोग उपलब्ध गराउनु निजी क्षेत्रको सामाजिक उत्तरदायित्व भएको महासंघको भनाइ छ।

    ‘यो एउटा जिल्लाको मात्र क्षति होइन’

    महासंघले रसुवा, नुवाकोट, धादिङ, चितवन वा अन्य प्रभावित क्षेत्रको समस्या सम्बन्धित जिल्लाको मात्र विषय नभएको स्पष्ट पारेको छ।

    एउटा पर्यटन गन्तव्यमा आएको क्षतिले होटल व्यवसायी, कर्मचारी, स्थानीय उत्पादन, रोजगारी, पर्यटन पूर्वाधार, पर्यटकीय आवागमन र अन्ततः नेपालको समग्र पर्यटन अर्थतन्त्रलाई प्रभावित गर्ने भएकाले प्रभावित क्षेत्रको पुनर्स्थापनालाई राष्ट्रिय पर्यटन अर्थतन्त्रको पुनरुत्थानका रूपमा अघि बढाउनुपर्ने महासंघको धारणा छ।

    विशेषगरी प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा अन्तर्राष्ट्रिय सीमासँग जोडिएको महत्वपूर्ण पर्यटन क्षेत्र रसुवालाई वर्तमान चुनौतीसँगै नयाँ पर्यटन विकासको अवसरका रूपमा समेत उपयोग गर्नुपर्ने महासंघले जनाएको छ।

    महासंघले आगामी दिनमा प्रभावित व्यवसायीहरूको तत्कालीन राहतदेखि दीर्घकालीन पुनर्स्थापना, पुनरुत्थान र पर्यटन प्रवर्द्धनसम्मका विषयलाई सरकार, पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, प्रदेश तथा स्थानीय सरकार, वित्तीय तथा बीमा क्षेत्रसमक्ष निरन्तर उठाउने प्रतिबद्धता जनाएको छ।

    “संकटमा साथ, पुनर्स्थापनामा सहकार्य र पर्यटन विकासमा नेतृत्व” भन्ने मूल भावनासहित होटल व्यवसायी महासंघ, नेपालले प्रभावित व्यवसायी, श्रमिक, स्थानीय समुदाय र पर्यटकको हितमा आफ्नो संस्थागत अभियानलाई निरन्तर अगाडि बढाउने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar